हरिवनमा ४ सय २२ जनालाई रोजगार

प्रदेश मुख्य समाचार

सर्लाही, १५ असार, २०७६ । सर्लाहीको हरिवन नगरपालिकामा सूरु भएको प्रधानमन्त्री रोजगार कार्यक्रममा ४ सय २२ जनालाई नियुक्त गरिएको छ । शनिबार साँझ हरिवन नगरपालिकाको निर्माणाधीन भवन परिसरमा आयोजित कार्यक्रममा नगर प्रमुख गणेश प्रसाईं लगायतले काममा खटिनेहरुलाई हेल्मेट, ज्याकेट लगायत सन्दर्भ सामग्री प्रदान गरेका छन् । १० दिनसम्म प्रतिदिन ५१७ रुपैंया पारिश्रमिक पाउने गरी उनीहरुलाई खटाईने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टीकाराम ढकालले जानकारी दिए ।

‘यसवर्ष ढिलागरी अख्तियारी आएको र नयाँ नयाँ भएकाले कार्यक्रम सूरु गर्न ढिलाई भएको र आगामी वर्षदेखि भने समयमै सूरु गरिनेछ’ ढकालले भने, ‘यसवर्ष २८ लाख मात्र बजेट भएकाले एकहजार ४९३ जनाले फारम भरेपनि ४२२ जनालाई मात्र रोजगार कार्यक्रममा सहभागि गराईएको छ ।’

उनीहरुलाई नगरपालिका कार्यालय, वडा कार्यालय, नगर भित्रका सामुदायिक विद्यालय तथा विभिन्न सरकारी कार्यालय हातामा वृक्षारोपण गर्न लगाईने ढकालले जानकारी दिए । ढकालका अनुसार अशोक, धुपी, रक्तचन्दन लगायत विभिन्न फूलका विरुवाहरु रोप्न लगाईने छ । रोजगारमा छनौट भएकाहरु अधिकांश महिला रहेका छन् ।

उपप्रमुख रेण्ॉका पौडेलको अध्यक्षता रहेको कार्यक्रममा जिल्ला समन्वय समितिकी उपसंयोजक जमुना पौडेल, विभिन्न वडाका वडाध्यक्षहरु लगायतको सहभागिता रहेको थियो ।

२० स्थानीय तह रहेको सर्लाहीमा हालसम्म हरिवनसहित दुईवटा नगरपालिकाले मात्रै प्रधानमन्त्री रोजगार कार्यक्रम लागू गर्न सफल भएका छन् । यसअघि बागमती नगरपालिकाले यो कार्यक्रम लागू गरिसकेको छ ।