पाकिस्तान विश्वकपको र्शीष चारमा, अफगानिस्तान ३ विकेटले पराजित

खेलकुद मुख्य समाचार

एजेन्सी, १५ असार । इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तान र्शीष चारमा पुगेको छ । शनिबार भएको खेलमा छिमेकी प्रतिद्वन्दी अफगानिस्तानलाई ३ विकेटले पराजित गर्दै र्शीष चारमा स्थान बनाएको हो ।

टस जितेर ब्याटिङमा आएको अफगानिस्तानले दिएको २२८ रनको विजयी लक्ष्य पाकिस्तानले ४९ ओभर ४ बलमा ७ विकेट गुमाएर पुरा गर्यो । पाकिस्तानको जितमा इमाद वासिमले अविजित रहदै सर्वाधिक ४९, बाबर आजमले ४५, इमाम उल हकले ३६ रन बनाए ।

त्यस्तै हरिस सोहिलले २७, मोहमद हाफिजले १९, कप्तान सर्फराज अहमेदले १८ तथा वाहब रियाजले अविजित १५ रन बनाए । अफगानिस्तानका मोहमद नाबी र मुजिब उर रहमानले समान २ विकेट लिए ।

सुरुवाती ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय २७ रन बनाएको थियो । अफगानिस्तानका लागि नाजिबउल्ला जड्रान र अस्घर अफगानले समान ४२ रन, रहमत शाहले ३५, इक्राम अलिखिल २४, अविजित समिउल्ला सिन्वारिले १९, मोहमद नाबी १६, कप्तान गुलबदिन नाइब १५ रनको योगदान गरे ।

पाकिस्तानका सहिन शाह अफ्रिदीले ४ विकेट हात पारे । यस्तै वाहब रियाज र इमाद वासिमले समान २ विकेट लिए ।

अफगानिस्तानमाथिको जितसँगै पाकिस्तानले विश्वकपको सेमिफाइनल प्रवेशको सम्भावना कायमै राखेको छ । आफ्ना ८ खेलबाट ९ अंक जोडेको पाकिस्तानले आगामी सबै खेल जितेर मात्र सेमिफाइनल पुग्न सक्दैन । अन्य टोलीको खेलले समेत पाकिस्तानके सेमिफाइनल समिकरणलाई बदल्ने छ ।

प्रतियोगितामा लागातार ८ औं हार ब्यहोरेसँगै अफगानिस्तान प्रतियोगितामा जितविहिन हुँदै पुछारमा छ ।