डडेल्धुराका आलु खेती गर्ने किसानलाई प्रोत्सहान रकम

कृषि मुख्य समाचार

डडेल्धुरा, १४ असार, २०७६ । डडेल्धुराका आलु किसानलाई १४ लाख रकम बाँडिदै छ । आलु खेती गर्ने किसानहरुलाई प्रोत्साहन वापतको रकम बाँडिने भएको छ । प्राधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाको आलु सुपर जोन परियोजनाबाट डडेल्धुराका १ हजार पाँच सय ९५ जना आलु खेती गर्ने किसानलाई प्रोत्साहन वापत १४ लाख रुपैयाँ वितरण गरिन लागेको हो ।
हिउँदे आलु खेती गर्ने किसानहरुलाई प्रतिफल वापतको प्रोत्साहन रकम वितरण गरिसकिएको छ भने बर्खे आलु खेती गर्ने किसानहरुलाई वितरण गर्ने प्रक्रिया सुरु गरिएको आलु सुपरजोन परियोजना डडेल्धुराका प्रमुख खेमराज जोशीले बताए ।

प्रति रोपनी ३ सय ५० रुपैयाँका दरले आलु खेती गर्ने किसानलाई प्रतिफल प्रोत्साहन वाफत रकम वितरण गरिएको उनले बताए । खडेली कृषक सहकारी संस्था अन्र्तगत रहेका तीन सय जना वर्खे आलु खेती गर्ने किसानहरुलाई १ लाख ५ हजार रुपैयाँ वितरण गरिएको छ । प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले किसानहरुलाई प्रतिफल वापतको प्रोत्साहन रकम वितरण गरे ।

हिउँदे आलु खेती गर्ने ६ सय ६ जना लाई ४ लाख ८५ हजार र वर्खे आलु खेती गर्ने ९ सय ८९ जना लाई ९ लाख १४ हजार रुपैयाँ वितरण गरेको आलु सुपर जोन परियोजना डडेल्धुराका प्रमुख खेमराज जोशीले बताए ।