नेपाल–अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल सुरु

मनोरञ्जन मुख्य समाचार

काठमाडौं, १४ असार, २०७६ । नेपाल–अमेरिका इन्टरनेशनल फिल्म फेस्टिभल –२०१९ आजदेखि अमेरिकाको राजधानी वासिङ्टन डिसी महानगर क्षेत्रको सिल्भरस्प्रिङमा सुरु भएको छ । शनिबार साँझबाट सुरु भएको फेस्टिभलमा ३४ फिल्म प्रदर्शन हुनेछन् ।

महोत्सवमा नेपाली पानोरामाअन्तर्गत नेपाल र नेपाली परिवेशमा बनेका नेपाली तथा विदेशी निर्देशकका चलचित्र देखाइने छ भने अन्तर्राष्ट्रिय पानोरामाअन्तर्गत उत्कृष्ट अन्तर्राष्ट्रिय कथानक चलचित्र, वृत्तचित्र, लघुचलचित्र, एनिमेसनका सबै विधाका चलचित्र देखाइने महोत्सवका निर्देशक पूर्णसिंह बराइलीले जानकारी दिए ।

उद्घाटनमा विनोद पौडेलद्वारा निर्देशित चलचचित्र ‘बुलबुल’ प्रिमियर गरिएको छ । तीन दिनसम्म चल्ने फेस्टिभल प्रवीन सेङ्बोद्वारा निर्देशित ‘कथा ७२’ को विषेश प्रदर्शनसँगै समापन गरिनेछ ।

फेस्टिभलका मानार्थ अध्यक्ष नविन सुब्बाले फेस्टिलले नेपाली समाजलाई कसरी जोड्ने भन्ने विषयमा छलफल गर्नेछन् ।

नेपाल अमेरिका फिल्म सोसाइटीद्वारा आयोजिना भएको यो महोत्सवमा नेपालका अन्तर्राष्ट्रिय ख्यातिप्राप्त निर्देशक मिनबहादुर भाम जुरी प्रमुख रहेका छन् भने ‘ल जोला फेसन फिल्म फेस्टिभलकी रेबेका बुस्टामिना र एमी अवार्ड विजेता लेखक तथा निर्मात्री मिमि मचाडो लुसेस् रहेकी छन् ।

महोत्सवमा उत्कृष्ट चलचित्रहरुलाई अवार्ड तथा सम्मान प्रदान गरिने पनि आयोजकले जनाएको छ ।