नानचिङ र काठमाडौंबीच भगिनी सम्बन्ध स्थापना

आजको बजार पर्यटन मुख्य समाचार

काठमाडौं, १२ असार, २०७६ । चीनको नानचिङ शहर र काठमाडौं महानगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना भएको छ । नानचिङको संस्कृति तथा पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले काठमाडौंमा बुधबार आयोजना गरिएको भव्य सांस्कृतिक कार्यक्रमबीच दुई नगरका प्रतिनिधिले सम्झौतापत्रमा हस्ताक्षर गरी भगिनी सम्बन्ध कायम भएको घोषणा गरेका हुन् ।

सम्झौतापत्रमा काठमाडौं महानगरपालिकाका उपमेयर हरिप्रभा खड्गी र नानचिङ नगर कङ्ग्रेसका स्थायी समिति अध्यक्ष लोङ स्याङले हस्ताक्षर गरेका छन् । होटल याक एण्ड यतिमा आयोजित सो समारोहमा बोल्दै उपमेयर खड्गीले नानचिङ र काठमाडौंका जनताबीचको सम्बन्ध सुमधुर बनाउँदै दुई शहरबीचको कला, संस्कृति, पर्यटन, शिक्षा तथा प्रविधिको आदान प्रदानमा सहकार्य हुने विश्वास व्यक्त गरिन् ।

कार्यक्रममा बोल्दै अध्यक्ष लोङ स्याङले नानचिङ शहर घुम्न नेपालीलाई निमन्त्रणा गरे । नेपाली पर्यटकहरुलाई नानचिङमा स्वागत गर्न आफु आतुर रहेको बताउँदै अध्यक्ष लोङ स्याङले भने, ‘नानचिङ नगरको जनसरकार र ८४ लाख नानचिङवासीको तर्फबाट नेपाली मित्रहरुलाई भ्रमणका लागि स्वागत गर्न चाहान्छु र दुई नगरबीचको मित्रता निरन्तर कायम रहोस् भनि कामना गर्छु ।’ नेपाल बेल्ट एण्ड रोड अवधारणाको महत्वपूर्ण क्षेत्र रहेको अवस्थामा काठमाडौंसँग अर्थ, व्यापार, संस्कृति र पर्यटनको क्षेत्रमा बलियो सहकार्य गर्न इच्छुक रहेको पनि अध्यक्ष लोङ स्याङले बताए ।

समारोहमा बोल्दै नेपाल पर्यटन बोर्डका प्रवक्ता आदित्य बरालले नेपाल भ्रमण गर्ने चिनिया पर्यटकको संख्या वर्षेनी बढिरहेको चर्चा गर्दै नेपाल भ्रमण वर्ष २०२० मा नानचिङबाट धेरै पर्यटकले नेपाल भ्रमण गर्ने आशा व्यक्त गरे । दु्रतगतीमा विकास भइरहेको चीनको विकासको लाभ लिन नेपाल प्रयत्नशील रहेको बताउँदै बरालले हवाई तथा सडक यातायातको सुदृढीकरणमा लगानी गरी नेपाल–चीन सम्वन्ध अभिवृद्धि गर्ने सम्भावना रहेको बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नानचिङ निउसौ पर्वतीय सांस्कृतिक पर्यटन क्षेत्रका व्यवस्थापन समितिका महानिर्देशक चाङ पिङले निउसौ पर्वत भगवान बुद्धको अस्थिधातु रहेको मन्दिरका लागि प्रसिद्ध रहेको जानकारी दिए । महानिर्देशक चाङले नेपाल गौतम बुद्धको जन्मस्थल भएकोले बौद्ध संस्कृतिको उद्गम थलो रहेको हुँदा चीन–नेपाल सांस्कृतिक रुपमा समेत निकट रहेको बताए । बौद्ध संस्कृति र कन्फ्युसियस सभ्यता एउटै कालखण्डमा विकास भएको विश्वको महान आध्यात्मिक सम्पदा रहेको समेत महानिर्देशक चाङले बताए ।

चीनको पूर्वी भागमा अवस्थित नानचिङ शहर याङसी नदीको तल्लो भागमा रहेको जानकारी दिँदै महानिर्देशक चाङ पिङले प्राचीन कालका छ राजवंशको राजधानी समेत नानचिङमा रहेको बताए । च्याङसु प्रान्तको राजधानी नानचिङ शहर समुन्नत शहरको रुपमा चिनिएको उनको भनाई थियो । चीनको विश्व प्रसिद्ध औधोगिक तथा वाणिज्य शहर साङ्हाई भन्दा तीन सय किलोमिटर टाढा रहेको नानचिङ शहर आधुनिक चीनका पिता सन यात्सेनको क्रान्तिभूमि समेत रहेको महानिर्देशक चाङ पिङले जानकारी दिए । नानचिङ सङ्ग्रहालय र द ओरेन्टियल मेट्रोपोलिट म्युजियम यहाँका मुख्य सङ्ग्रहालय हुन् भन्दै महानिर्देशक चाङ पिङले नानचिङ एक सुन्दर शहर मात्र नभई आधुनिक नवीनताको शहर पनि रहेकोले नेपाली जनतालाई नानचिङबारे गहिरो अध्ययन तथा पर्यटन गर्न आग्रह गरे ।

काठमाडौंस्थित चिनिया राजदूतावासका सांस्कृतिक विभागका प्रमुख छ्तान पाईमुले चीनको नानचिङ शहर र काठमाडौं महानगरपालिकाबीच भगिनी सम्बन्ध स्थापना गर्ने यो भव्य एवम् महत्वपूर्ण अवसरमा उपस्थित भइ चीनको नानचिङ शहरको पर्यटन क्षेत्रको बारेमा जानकारी लिन उत्सुकतापूर्वक सहभागी भएका सबै नेपाली साथीहरुलाई धन्यवाद ज्ञापन गरिन् । साथै यो भव्य कार्यक्रमको सफल आयोजनाको लागि काठमाडौंस्थित चिनिया सांस्कृतिक केन्द्र र नानचिङ शहरलाई धन्यवाद ज्ञापन गरिन् ।


चीन र नेपाल असल मित्र रहेको भन्दै दुई मुलकबीच दौत्य सम्बन्ध स्थापना भएदेखि दुई देशबीच असल छिमेकीमा हुनुपर्ने आपसी सहयोगको सम्बन्ध निरन्तर रुपमा विकसित हुँदै आएको छ्तान पाईमुले जानकारी दिइन् । साथै पाईमुले नेपाल घुम्न आउने चिनिया पर्यटकहरुको संख्या सबैभन्दा ठूलो रहेको भन्दै गत वर्ष मात्र १ लाख ५० हजार चिनिया पर्यटकले नेपाल भ्रमण गरेको बताइन् । उनले बेल्ट एण्ड रोडको क्रियाशिलतासँगै मानवीय क्षेत्रको आदान प्रदान दिनप्रतिदिन घनिष्ट बन्दै गएको समेत प्रष्ट पारिन ।

समारोहमा नानचिङ शहरका ससाना बालबालिकाहरुले चिनिया तथा नेपाली गरी ९ वटा गीत, नृत्य तथा संगीत प्रस्तुत गरेका थिए । उनीहरुको जिवन्त प्रस्तुतीले समारोहमा उपस्थित अतिथिहरु र सर्वसाधारण मन्त्रमुग्ध बनेका थिए ।

सोही समारोहमा नानचिङ निउसौ पर्वतीय सांस्कृतिक पर्यटन क्षेत्रका व्यवस्थापन समितिका महानिर्देशक चाङ पिङ र अरनिको समाजका अध्यक्ष डा. सर्वोत्तम श्रेष्ठले नानचिङ निउसौ पर्वतीय क्षेत्र र नेपालबीच पर्यटन, संस्कृति, शिक्षा आदि क्षेत्रको विकास तथा प्रचारप्रसार एवम् आपसी सहयोग सम्बन्धी सहमति पत्रमा हस्ताक्षर गरेका थिए ।

कार्यक्रम स्थलमा नानचिङको आफ्नै विशेषता युक्त पर्यटन, संस्कृति, सामाजिक जनजीवन तथा धार्मिक अवस्था झल्कने दर्जनौ आकर्षक तस्विरको समेत प्रदर्शन गरिएको थियो ।

sdr