एसईईमा करिश्माको बी प्लस र शान्ताको बी ग्रेड

मुख्य समाचार शिक्षा

काठमाडौँ, १२ असार, यो वर्षका एसईई सेलिब्रेटीका रुपमा चिनिएका नायिका करिश्मा मानन्धर र सांसद शान्ता चौधरीले एसईई परीक्षा पास गरेका छन् । बिहीबार प्रकाशित एसईई परीक्षाको नतिजामा अभिनेत्री करिश्मा मानन्धरले बी प्लस ल्याएकी छिन् । यसैगरी नेतृ शान्ता चौधरीले बी ग्रेड ल्याएकी छिन् ।

प्राप्त नतिजाअनुसार करिश्माले ३.० जीपीए ल्याएकी छिन् भने शान्ताले जीपीए २.६५ ल्याएकी छिन् ।

परीक्षा नियन्त्रण कार्यालयले दिएको जानकारी अनुसार वर्षको एसईईमा जम्मा ४ लाख ५९ हजार २ सय ७५ विद्यार्थी उत्तीर्ण भएका छन् । जसमा छात्र २ लाख ३० हजार १ सय ४१ र छात्रा २ लाख २९ हजार १ सय ३४ उत्तीर्ण भएका छन् ।

२०७५ सालको एसईई परीक्षा गत चैत १० गतेबाट २१ गतेसम्म सञ्चालन भएको थियो । एसईई परीक्षामा साधारणतर्फ ४ लाख ४९ हजार ६ सय ४२ र प्राविधिकतर्फ ९ हजार ६ सय ३३ परीक्षार्थी सहभागी भएका थिए । तीमध्ये दुई लाख ३६ हजार ४४५ छात्र र दुई लाख ३८ हजार ५५८ छात्रा परीक्षार्थी थिए ।