आहा ! हामी, आहा ! हाम्रो प्रतिभा – डिल्लीराज अर्याल

मुख्य समाचार विचार

रामवाणको प्रयोग कति सजिलै गरिदिन्छौं हामी। मानौं रामवाण हामीले प्रयोग गर्ने गरेको हँसिया, कोदालो हो। ती पनि त्यति सजिलै प्राप्त हुन र प्रयोग हुन छाडे । तिनको उपयोग पनि त्यति प्रभावकारी नहुने भयो । बन्न त बन्छन् तर तिनमा धार लाउन, साद लगाउन कैयौं समय कुर्नुपर्ने, दौडधूप गर्नुपर्ने भयो । लागाइदिने मान्छे नपाइने समस्या छँदैछ । त्यसमाथि प्रयोग गर्न पनि अभ्यास नभएकाले त्यति उपयुक्त नहुने देखिन थाल्यो । रामवाण हुने कुरा त परै छ तैपनि भनिदिन्छन् मान्छे— हँसिया रामवाण हुन्छ।

रामवाणका विषयमा पढेका, सुनेका कुरा सम्झन्छु र तिनमा विचार गर्न थाल्छु । अहँ रामवाणको ‘र’ पनि देखिन्नन् यिनमा किनकि तिनमा त्यो क्षमता छँदैछैन र हुनै सक्दैन जसरी चाकडीबाजलाई ‘हनुमान’ को संज्ञा दिएर ती हनुमानको अपमान गर्छौं जसले रामको निम्ति आफूलाई पूर्ण समर्पित गरे।

तुलना गरेर हेर्छु म र विवेचना गर्छु । सोच्छु— कसरी खसाल्छौं हामी कुनै योग्य पात्रलाई पनि अयोग्य पात्रका रूपमा रु के हामी खसाल्ने मात्र अभ्यास गर्दैछौंरु के खसालेर मात्रै हाम्रो विद्वता साबित हुने हो ?

मलाई एक जना विद्वान् लेखक मित्रले विभीषणका विषयमा भनेको भनाइको सम्झना हुन्छ– ‘विभीषण जस्ता देशद्रोहीलाई हामी भक्त भनेर सम्मान गर्छौं रावणलाई गर्दैनौँ । जबकि रावण तत्कालीन समयको ठूलो विद्वान् थियो ।’

मेरा मनमा सधैँ यस्तै कुरा खेलिरहन्छन्। म यस्तै विषयमा सोचिरहन्छु। हरेकका आफ्ना तर्क हुन्छन्, आफ्ना विवेचन हुन्छन् र पक्ष पनि सायद, त्यसैले उहाँले त्यसो भन्दा म मेरै तर्क, मेरै विवेचन र पक्षमा रहन मन पराउँछु। सोच्छु – रावण विद्वान् थियो र त सीतालाई जोगीको रूप लिएर अपहरण गर्यो ! यसो गर्नु तपाईंकै लागि, कुलकै लागि, देशकै लागि पनि घातक हुन्छ। यो एकदम गल्ती भयो महाराज भनेर भाइको हैसियतले, मन्त्रीको हैसियतले सम्झाउने विभीषण देश निकाला गरिए ।
पत्नीकै हैसियतले, महारानीकै हैसियतले सम्झाउने मन्दोदरीका कुरै सुनिएन, सुनेन। मरीच, शुक, माल्यवान, कालनेमी प्रहस्त आदि राज्यमा धेरै, राम्रै हैसियत भएका कतिले सम्झाए तर तिनलाई रावणले टेरेन।

तीमध्ये कतिलाई उसले निकाल्पाटो लगायो, कतिलाई मार्ने धम्की दियो र डरमा तिनले उसका पक्षबाट ज्यान दिए । तिनले देशका निम्ति जनताका निम्ति होइन, परोपकार सोचेर पनि होइन, डरले मात्र उसलाई साथ दिए ।

अरूका कुरै छोडौँ, रावणको सबैभन्दा बलियो योद्धा र उसकै भाइ कुम्भकर्णले पनि सम्झाएकै हो तर गाली खानेमा ऊ पनि पर्यो । रामायण भन्छ– लडाइँ गर्ने मन भए जा लड होइन सुत्ने हो भने गएर सुत् मलाई अर्ति चाहिएको होइनरु अनि कसरी रावणलाई विद्वान् साबित गर्छन् उसका व्यवहारहरू रु निकाल्पाटो लागेर हिडेको विभीषण कसरी देशद्रोही हुन्छ रु मैले नबुझेको र नबुझ्ने यही हो ।

रह्यो चाकडीबाजलाई हनुमान भनिने कुरा । चाकडी गर्ने आज हनुमान् भनिनेहरूमा स्वार्थ बाहेक केही छैन। तिनले निजी स्वार्थकै लागि चाकडी गरेका हुन्, छन् तर जुन हनुमानको नाम तिनीसँग जोडिएको छ त्यो हनुमानले आफ्नो स्वार्थको ‘स’ पनि कहीं खोजेको रोजेको देखिन्न। रामका हरेक दु:ख कष्टमा सहोदर भाइभन्दा कम नभएर सेवा गरेका छन्, सहयोग गरेका छन् । हर अप्ठेरोमा सहयोगी बनेका छन्। रामको सुखमा हाँसेका छन् र दुस्खमा रोएका छन्। मर्न तयार भएका छन्। अहिरावणले राम लक्ष्मणलाई अपहरण गरेर लगी बलि दिन लाग्दा उनै बचाउन गएका छन् । आफ्नो छोरो मकरध्वजलाई बाँधेर अहिरावणको पूजा र बलिदिने स्थलमा पुगेर उसलाई मारी बचाएका छन्। हनुमानको नाम आजका चाकडीबाजले, स्वार्थप्रेरित पिछलग्गूले कसरी पाउन मिल्छ ? कसरी पाए ?

आहा ! हामी रावण जस्तै विद्वान् जसले जे जस्तो काम गरे पनि विद्वान् मानिनुपर्ने, मानिने अनि व्यवहार कुशल मन्दोदरी, माल्यवान् प्रहस्त… देखि विभीषणसम्मलाई गलत देख्ने हाम्रा हेराइ र सोच ! अब यही र यस्तै हेराइ त होइन रामवाण पनि ?

रामले हानेको वाण कहिल्यै खाली नजाने, लक्ष्यभेद गरेर पुनस् फर्कने भनिएको छ। अनि त्यो रामवाण आज फड्यार पनि बन्यो, बनाइदियौं हामीले । जसरी रावणलाई महाविद्वान् र विभिषणलाई देशद्रोही बनाउने गरेका छौं।

मैले श्लोक बिर्सें – “तूणैनैव शरे करेण दशधा सन्धान काले शतम्…” ठोक्रोमा हात राख्नासाथ दश अर्थात् हातले निकाल्दा निकाल्दै दशवटा हुने, सन्धान गर्दा सयवटा हुने, धनुबाट छुट्दा हजार हुने… यही क्रमले बढ्ने र लक्ष्यभेदन गरेर पनि फेरि फर्कने रामवाणको तुलना हामी चिनी रोगमा फड्यार जस्ता कुरामा गर्छौं । अनि हाम्रो तुलना गर्ने, विवेचना गर्ने, नामकरण गर्ने हाम्रो क्षमतानमा दङ्ग पर्छौं ।

आहा हामी ! आहा हाम्रो प्रतिभा ! हाम्रो क्षमता ! हाम्रो मूल्याङ्कन ! हाम्रो निर्णायक शक्ति र निर्णय !