वर्डफ्लु पीडित किसानलाई ४ करोड ४२ लाख क्षतिपूर्ति

कृषि विषेश समाचार

मकवानपुर, ११ असार, २०७६ । मकवानपुरका वर्डफ्लु पीडित किसानहरुलाई क्षतिपूर्ति बापत् ४ करोड ४२ लाख रुपैयाँ वितरण गरिएको छ । प्रदेश ३ को प्राकृतिक जलाशय प्रवद्र्धन एवम् संरक्षण केन्द्रले बुधबार हेटौंडा उपमहानगरपालिका ५४ जना किसानलाई क्षतिपूर्ति बापतको रकम वितरण गरेको हो ।

सरकारी टोलिद्वारा नष्ट गरिएको बर्डफ्लु संक्रमित कुखुराको रकम बापतको चेक बर्डफ्लु रोग नियन्त्रण जिल्ला प्राविधिक समितिका अध्यक्ष एवम् मकवानपुरका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले हस्तान्तरण गरे । हेटौंडाको वडा नम्बर ७, ८, १७ र १६ लगायतका ५४ जना किसानलाई ४ करोड ४२ लाख ११ हजार रुपैंया रकम प्रदान गरिएको हो ।

हेटौंडाका विभिन्न वडामा वर्डफ्लु संक्रमण देखिएको भन्दै ४८ वटा पोल्ट्री फार्मका ६६ हजार ५ सय ४६ वटा कुखुरा नष्ट गरिएको थियो । वर्डफ्लु रोग नियन्त्रण जिल्ला प्राविधिक समिति मकवानपुरको बैठकको निर्णय अनुसार चैत्र ४ गतेदेखि कुखुरा, अण्डा र दाना नष्ट गर्न सुरु गरिएको थियो ।

प्रमुख जिल्ला अधिकारी तामाङको अध्यक्षतामा बसेको सर्वपक्षिय बैठकले प्रति कुखुरा लेयर्स ९ सय रुपैयाँ, बोइलर ४ सय रुपैयाँ, दाना प्रति केजी ६५ रुपैयाँ र अण्डा प्रतिगोटा ११ रुपियाँ क्षतिपूर्ति उपलब्ध गराउन जिल्ला वर्डफ्लु रोग नियन्त्रण प्राविधिक समितिलाई सिफारिस गरेको थियो । मकवानपुर कुखुरा व्यवसायी संघका अनुसार मकवानपुरमा करिब ३ हजार कुखुरा व्यवसायीको पालेको १५ लाख कुखुरामा झण्डै ६ अर्ब लगानी रहेको छ ।