खिजीदेम्बामा कक्षा ९ बाटै ४ वर्षे ओभरसियरको पढाई सुरु

मुख्य समाचार शिक्षा

सृष्टि सुनुवार, ओखलढुङ्गा, ११ असार, २०७६ । ओखलढुङ्गा जिल्लाको खिजीदेम्बा गाउँपालिकामा सिभिल इन्जिनियरिङ अन्र्तगत ओभरसियरको प्राविधिक कक्षा सुरुवात भएको छ । खिजीदेम्बा गाउँपालिकाको वडा नं ५ मा रहेको फूलमती माध्यमिक विद्यालयमा यस वर्ष कक्षा ९ देखि प्राविधिक विषयको पढाई सुरु भएको हो ।

मावि तह ३५ हजार र निमावि तह २५ हजार बराबरको शिक्षकको तलब साथै २५ लाखको ल्याव संचालनका लागि तत्कालिन शिक्षा विभागबाट वैशाख ४, २०७६ मा अनुदान स्वीकिृति भई कक्षा संचालनमा आएको हो । गाउँपालिकाको सिफारिसमा कक्षा ८ सञ्चालन भएका विद्यालयको विवरण, यातायात सुविधा, भौतिक पूर्वाधार, सम्बन्धित विद्यालयको शिक्षक जनशक्ति लगायतको विवरण भरिएको फारम फुलमति माविले माघ, २०७५ मा शिक्षा विकास तथा समन्वय इकाईमा पठाई तत्कालिन स्रोत व्यक्तिबाट अनुगमन भई खिजीदेम्बा गाउँपालिकाबाट वैशाख २९, २०७६ मा कक्षा संचालनका लागि अनुमति प्राप्त भएको थियो ।

प्राविधिक शिक्षालाई उच्च प्राथमिकतामा राखेर कम खर्चमा गाउँमै बसेर प्राविधिक विषय पढ्नका लागि सहज वातावरण बनाई प्राविधिक जनशक्ति उत्पादन गर्ने उदेश्यका साथ कक्षा संचालन गरिएको फूलमती माविका प्राचार्य रुद्र शंकर घिमिरेले बताए । अनुदान स्वीकृतिको जगमा सुरुवात गरिएको प्राविधिक शिक्षालाई गुणस्तरीय र प्रभावकारी बनाउन आगामी दिनमा गाउँपालिकाबाट अनुदानको आवश्यकता रहेको प्राचार्य घिमिरेको भनाई छ ।

प्राविधिक धारमा ४८ जनाको कोटा रहेकोमा हाल २३ जना छात्रा र २१ जना छात्र भर्ना भई ४४ जना विद्यार्थी अध्ययनरत छन् । गाउँपालिकाको अन्य वडाहरुबाट समेत प्राविधिक विषय पढ्नका लागि १३ जना विद्यार्थी डेरा लिएर बसेका विद्यालयले जनाएको छ । विद्यालय एवम् विद्यार्थीको आर्थिक अवस्था तथा जिल्लाका अन्य विद्यालयले हाल कार्यान्वयन गरेका शुल्कको आधारमा विद्यालय व्यवस्थापन समितिले हाल प्रति विद्यार्थी भर्ना शुल्क १ हजार तथा मासिक शुल्क १५ सय कायम गरेको छ ।

शैक्षिक सामग्री व्यवस्थापन गर्न आर्थिक अभाव, विद्यालय अस्थायी सिकाई केन्द्रबाट संचालन भइरहेकोले भवनको समस्या, सरकारी दररटेमा शिक्षक नपाइनु अहिलेको मुख्य चुनौति रहेको प्राचार्य घिमिरेले बताए । गाउँपालिका तथा वडामा बजेटको लागि अनुरोध गरिएको, ल्याव व्यवस्थापनका लागि विद्यालयले योजना बनाइरहेको पनि उनले बताए ।

बिहान साढे ९ बजेबाट प्राविधिक धारका विद्यार्थीको कक्षा सुरु हुने गरेको छ । पाठ्यपुस्तक सबै अङ्ग्रेजी माध्यमबाट हुने भएकाले विद्यार्थीले अङ्ग्रेजीको ट्युसन लिने गरेका छन् । विद्यार्थी विश्व सुनुवारले बिहान २ घण्टा अङ्ग्रेजी विषयको ट्युसन पढेको र मेहनत गरिरहेको बताए ।

यसैगरी अभिभावक कम खर्चमा आफ्नै घर नजिक प्राविधिक कक्षा संचालन भएकोमा खुशी भएका छन् । विद्यालयलाई आवश्यक सहयोग गर्न तयार रहेको भन्दै विश्वकी आमा गौरी सुनुवारले मासिक शुल्क समेत आफूले तिर्न सक्ने रहेको बताइन् ।

एक जना इन्जिनियर र ओभरसियर गरी २ जना शिक्षकले अहिले पढाइरहेका छन् । सैद्धान्तिक भन्दा प्रयोगात्मकमा जोड दिँदै भाषागत कुरामा गाह्रो नमान्न विद्यार्थीलाई हौसला दिने गरेको शिक्षकले बताएका छन् । ९ कक्षाबाट सुरु गरी १२ सम्म पुग्दा ४ वर्षे कोर्ष भए पनि कक्षा १०, ११ र १२ मा ओजिटीसमेत गर्नुपर्ने हुँदा पढाई पुरा हुन ५ वर्ष लाग्ने छ । कम्तिमा ३५ जनालाई कोर्ष पुरा गराई ओभरसियर बनाउने लक्ष्य विद्यालयले लिएको छ ।