ज्यान मार्ने उद्योगमा मेयरका छोरा पक्राउ

प्रदेश मुख्य समाचार समाज

रौतहट, ९ असार, २०७६ । ज्यान मार्ने उद्योग मुद्दामा आरोपित गरुडा नगरपालिकाका मेयर इन्नु राय यादवका छोरासहित दुईजनालाई गरुडा प्रहरीले पक्राउ गरेको छ । ज्यान मार्ने उद्योग मुद्दामा प्रहरीको खोजीमा रहेका गरुडा नपा ५ महम्मदपुरका उनीहरुलाई प्रहरीले नियन्त्रणमा नियन्त्रणमा लिएको छ ।

इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी निरीक्षक रिपेन्द्र सिंहको कमान्डमा महम्मदपुर गएको टोलीले चुनचुन यादव र अनीलकुमार यादवलाई पक्राउ गरेको हो । पक्राउ परेका अनीलकुमार यादव गरुडा नगरपालिकाका मेयर इन्नु राय यादवका छोरा हुन् । अन्य आरोपीहरु भने फरार रहेका छन् । प्रहरीले महम्मदपुरमा व्यापक खोजी गरेको जनाएको छ ।

इँटा व्यावसायी संघ रौतहटका अध्यक्ष राम विनोद साह तथा गरुडा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष राम भरोस यादव पनि प्रहरीको खोजी सूचीमा छन् । दुवैजना फरार रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । रौतहट प्रहरी प्रमुख एसपि भूपेन्द्रबहादुर खत्रीले पक्राउ परेका दुवै जनाको विषयमा आवश्यक छानबिन सुरु गरिएको र अन्य अभियुक्तको खोजी भइरहेको बताएका छन् ।