देउसी खेलेको रकमले टोलमा फ्रि वाईफाई

मुख्य समाचार सूचना प्रविधि

दिक्तेल, ८ असार, २०७६ । दिक्तेलको बैंकचोक पोखरी टोल ताकिल निर्माण उपभोक्ता समितिले आफ्नो टोललाई फ्रि–वाईफाई र धुम्रपान निषेधित क्षेत्र घोषणा गरेको छ । टोलको व्यवसाय प्रवद्र्धन एवम् इन्टरनेटको पहुँच विस्तारका लागि समितिले देउसी खेलेर जम्मा भएको रकमले फ्रि–वाईफाईको व्यवस्था मिलाएको हो । दुई वटा एमटु डिभाईस जडान गरेर टोलमा वाईफाई छाडिएको बैंकचोक पोखरी टोल ताकिल निर्माण उपभोक्ता समितिका सचिव मनोज बजिमयले बताए ।

नगरपालिकाले सार्वजनिक स्थलमा धुम्रपान सेवनमा रोक लगाएको केही वर्षपछि समितिले पनि आफ्नो टोललाई धुम्रपान निषेधित क्षेत्र घोषणा गरेको हो । धुम्रपान तथा सूर्ती सेवनबाट हुने मानवीय क्षति कम गर्नका लागि टोलमा चुरोट, बिँडी, सुर्ती लगायतका धुम्रपान सेवनमा रोक लगाइएको हो । टोलमा धुम्रपान सेवन गरेको भेटिए आर्थिक सजाय गरिने सचिव बजिमयले बताए ।