सवा चार किलो अफिमसहित तीन जना पक्राउ

ट्राफिक/प्रहरी मुख्य समाचार

रुकुम, ८ असार, २०७६ । एक साताको अवधिमा रुकुम (पश्चिम) को प्रहरीले ४ किलो दुई सय ५० ग्राम अवधै लागुऔषध अफिमसहित तीन जनालाई पक्राउ गरेका छ । लागुऔषधको अवैध कारोबार भइरहेको गोप्य सूचनाको आधारमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम) ले जानकारी दिएको छ ।

जिल्लाको आठबीसकोट नगरपालिका–४ छोटेबगरबाट मुगुको कार्मारुङ गाउँपालिका १ चिमाथका ३६ वर्षीय लंक बुढा र जुम्लाको कनकासुन्दरी गाउँपालिका– ४ हाडसिंजाका २९ वर्षीय चक्रबहादुर शाहीलाई गत बिहीबार साँझ ४ सय ग्राम लागुऔषधसहित अफिमसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम) का प्रमुख प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए । दुवै जनालाई गोतामकोट प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको उनले बताए ।

अफिम ल्याएर डोल्पाबाट रुकुम (पश्चिम) तर्फ आइरहेका गोप्य सूचनाको आधारमा उनीहरुलाई सोधपुछ गर्ने क्रममा आफैँले बोकेको झोला फालेर भाग्दै गर्दा नियन्त्रणमा लिइएको डीएसपी खड्काले बताए ।

यस्तै सोही नगरपालिका १४ छेपारेबाट अर्का एक जनालाई ३ किलो ८ सय ५० ग्राम लागुऔषधसहित अफिम सहित पक्राउ गरेको उनले जनाए ।

आठबीसकोट नगरपालिका १ रोकाजा बस्ने २५ वर्षीय मनबहादुर बुढाले खैरो रङको अफिम बोकेर आउँदै गर्दा पक्राउ गरिएको प्रहरीको भनाई छ । शंकास्पद रुपमा हिडिरहेको अवस्थामा प्रहरीले उनलाई रोकी सोधपुछ गर्ने क्रममा बुढाले प्रहरीलाई हातपात गरी, ढुङगा प्रहार गर्दै भाग्न खोज्दा नियन्त्रणमा लिन एक राउण्ड हवाई फायरसमेत गर्नुपरेको डिएसपी खड्काले बताए । झोला भित्र सेतो प्लाष्टिकमा पाँच वटा पोका पारेको अवस्थामा अफिम फेला परेको उनले जनाए ।

बुढाको साथबाट अवैध लागूऔषध अफिमको कारोबार गर्न साथमा राखेको ९ हजार नगद रुपैयाँ, दुई थान मोबाइल, एक थान टर्च लगायतका सामाग्री फेलापरेको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरु विरुद्ध लागूऔषध नियन्त्रण ऐन अन्तर्गत मुद्दा दर्ता गरेर जिल्ला अदालतबाट म्याद थप गरी प्रहरी हिरासतमा राखेर अनुसन्धान भइरहेको बताइएको छ । पछिल्लो समय लागुऔषध अफिम तथा गाँजा सहित विभिन्न ठाउँबाट व्यक्तिहरुलाई पक्राउ गर्ने गरेको छ ।