आइतबार देशभर भारी वर्षाको सम्भावना, सतर्क रहन महाशाखाको अनुरोध

मुख्य समाचार विषेश समाचार समाज

काठमाडौं, ८ असार । करिब १० दिन ढिलो गरी मनसुन भित्रिएपछि आइतबार देशभर वर्षा हुने सम्भावना रहेको मौसमविद्हरुले बताएका छन् । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आइतबार मध्य र पश्चिमका केही भागमा बढी तथा देशभर वर्षा हुने सम्भावना रहेको बताएको हो ।

देशभर मनसुन सक्रिए भएसँगै आइतबारदेखि मंगलबारसम्म अत्याधिक वर्षा हुने सम्भावना रहेकाले बाढी पहिरोको सम्भावना रहेको विभागले जनाएको छ । मध्य तथा उच्च पहाडी क्षेत्रमा पहिरोको सम्भावना तथा तराई क्षेत्रमा बाढीको सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

हाल नारायणगढ मुग्लिन सडकमा पहिरो खसेको जानकारी आइसकेको छ । कास्की, सुर्खेतलगयात देशको पश्चिम भागमा तथा मध्य काठमाडौंलगायत अन्य जिल्लाहरुमा विहानैदेखि पानी परिरहेको छ ।

महाशाखाका अनुसार दिउँसो देशका मध्य र पश्चिमी भूभागमा सामान्यदेखि पूर्णसम्म बदली तथा पूर्वी भेगमा आंशिकदेखि सामान्यसम्म बदली हुने सम्भावना देखिएको छ । यस्तै उच्च हिमाली भूभागका केही स्थानमा हिमपातको सम्भावना रहेको जनाइएको छ ।