सत्यमोहनलाई भक्तपुरमा नागरिक अभिनन्दन

कला/संस्कृति मुख्य समाचार

भक्तपुर, ६ असार, २०७६ । शताब्दी पुरुष सत्यमोहन जोशीलाई शुक्रबार भक्तपुरमा भव्य समारोहबीच नागरिक अभिन्दन गरिएको छ । श्री सत्यमोहन जोशी नागरिक अभिनन्दन समारोह समिति भक्तपुरको आयोजनामा जोशीलाई नागरिकले अभिनन्दन तथा सम्मान गरिएको हो ।

जोशीलाई नेवारी परम्परागत बाजागाजासहित मध्यपुर थिमी र भक्तपुर नगरक्षेत्रको परिक्रमा गराइएको थियो । बिहान मध्यपुर थिमिको बाह्खाबजारमा स्वागत गरी दिउँंसो भक्तपुरको दत्तात्रयबाट र्यालीसहित नगर परिक्रमा गराइएको थियो । दत्तात्रयबाट इनाचो, गोल्मढी, सुकुलढोका, टौमढी हुँंदै बाराहीस्थानमा ल्याई एक समारोहबीच अभिनन्दन गरिएको थियो ।

जोशीलाई तेजेश्वरबाबु ग्वंग, रमापतिराज शर्मा, श्रीगोपाल प्रजापति, पूर्णबहादुर वैद्य र कैलाशभक्त प्रधानाङ्गले नेवारी परम्परागत रुपमा अभिनन्दन गरेका थिए । जोशीलाई करिब तीन फिट अग्लो ताम्रपत्रले अभिनन्दनसहित सम्मान गरिएको थियो । सम्मानमा सयौं भक्तपुरबासी सहभागी भएका थिए ।