अर्को जनविद्रोहका लागि तयार हुन मोहन वैद्यको निर्देशन

मुख्य समाचार राजनीति

हेटौडा, ६ असार, २०७६ । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ ले अर्को जनविद्रोहको लागि तयार रहन कार्यकर्तालाई निर्देशन दिएका छन् । शुक्रबार हेटौंडामा पार्टीको संगठन क्रान्तिकारी युवा लिग नेपालको प्रथम राष्ट्रिय सम्मेलनको उद्घाटन गरेपछि उनले क्रान्ति र शान्ति प्रकृया पुरा नभएको भन्दै जनविद्रोहको विकल्प नभएको बताए ।

‘प्रधानमन्त्रीले आन्दोलन हुँदैन भने पनि स्थिति त्यस्तो छैन, स्थिति बदलिँदै गएको छ,’ उनले भने, ‘काठमाडौंको आन्दोलनले जनतामा सडकमा उत्रिन्छन् भन्ने राम्रो संकेत गरेको छ ।’ स्थायी सरकार भने पनि सरकार स्थिर हुन नसक्ने भन्दै दुई तिहाई मत ल्याए पनि सरकारले जनतालाई धोका दिँदै आएको आरोप लगाए ।

‘यो सरकार जनता, शहीद, वेपत्ता योद्धा र जनमुक्ति सेनाहरुको रगतमा उभिएर बनेको छ,’ उनले भने, ‘शान्ति प्रकृया पुरा भयो भन्दै आयो, कहाँ पुरा भयो भन्नुहोस् त ?’ शहीद, जनमुक्ति सेनाको योद्धा, घाइते, अपाङ्गको अवस्थाप्रति सरकारले खासै चासो नदिएको भन्दै उनले सत्य निरुपण तथा मेलमिलाप आयोग, वेपत्ता आयोग गठनमै सीमित रहेकाले शान्ति प्रकृया पुरा भएको नमान्ने बताए ।

नयाँ जनवादी सत्ता स्थापनाका लागि संसदीय व्यवस्थाको बिरुद्ध लडे पनि पुनः संसदीय व्यवस्था आएको भन्दै असन्तुष्टी जनाए । देशमा बेरोजगारीको समस्या गम्भीर रहेको भन्दै महासचिव वैद्यले वर्तमान सरकारले राष्ट्रियता, जनतन्त्र र जनजीविकाको समस्या समाधान गर्न कुनै चासो नदिएको जिकिर गरे ।