डोटेली चलचित्र ‘नन्दी’ को शुभमुहूर्त

मनोरञ्जन मुख्य समाचार

धनगढी, ६ असार, २०७६ । धनगढीस्थित नैनादेवी मन्दिर परिसरमा शुक्रबार बिहान डोटेली भाषाको चलचित्र ‘नन्दी’ को शुभमुहूर्त गरिएको छ । सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री माया भट्टले एक कार्यक्रमकाबीच चलचित्रको शुभमुहूर्त गरेकी हुन् ।

कार्यक्रममा बोल्दै मन्त्री भट्टले सुदूरपश्चिमको भाषा, कला, संस्कृतिलाई जोगाइराख्न र यसको पहिचान बढाउन भाषाभाषीका चलचित्र निर्माण गरिनुपर्ने बताइन् । डोटेली भाषाको चलचित्र ‘नन्दी’ निर्माणको सफलताको कामना गर्दै आफूहरुले पनि भाषाभाषीका चलचित्र तथा संस्कृतिलाई सहयोग गर्ने बताइन् ।

शुभमुहूर्त कार्यक्रममा संस्कृतिविद् डा. टिएन जोशीले पनि भाषाभाषीका चलचित्र निर्माण गरिनुपर्नेमा जोड दिए ।

सिएस् फिल्मस् प्रालिको व्यानरमा निर्माण हुन लागेको फिल्म ‘नन्दी’ को निर्माता विनोद बोहरा ‘बोक्टानी किङ’ रहेका छन् । चलचित्र सुदूरपश्चिमका ९ वटै जिल्लाका मुख्य पर्यटकीय तथा धार्मिक स्थलमा छायाङ्कन गरिने बोक्टानी किङले बताए ।