[कविता] लाग्यौँ सधैँ नक्कलमा

मुख्य समाचार साहित्य

— डिल्लीराज अर्याल

गुफा अनेकौँ र रहस्य छन् यहाँ,
छन् ताल ठूला झरना नदी यहाँ
जडीबुटी छन् अनमोल जो यहाँ
पाइन्छ यस्तो सबथोक खै कहाँ?

बहन्छ कोशी सुनको सधैँ यहाँ
छ दूधकोशी बहँदै कतै यहाँ
ताता चिसा मूल जताततै यहाँ
अचम्मकै प्राकृत सम्पदा यहाँ

भएन यो नै कहिल्यै भएन खै
परन्तु हामी अलमल्लमै सधैँ
गरीब हाम्रो मन मात्र भैरह्यो
दरिद्रता मानसमा सधैँ रह्यो

लागेन मष्तिष्क सुसोचमा कतै
लागे कहाँ हात सुकार्यमा कतै
लाग्यौँ सधैँ नक्कलमै दगुर्नमा
पर्यौं सधैँ दुर्गतिका समुद्रमा
,
दु:खी भयौँ बोक्छ नदी जहाँ सुन
छर्दै गयौँ शान्ति अशान्ति पाउन !
सुवास पर्थ्यो जसले फिँजाउन
देखिन्छ त्यो ब्यस्त कमी लुकाउन

घटे अनौठा घटना लुके सुन
अतृप्तिमै थाल्छ अशान्ति फैलिन
दायित्व बुझ्दैन कतै कुनै किन
बन्दै गयो झन् अति साँघुरो मन?

जहाँ सधैँ साँघुरिँदै गयो मन
त्यहाँ कसै हुन्न समृद्ध जीवन
न मित्रता बढ्छ न मान वा धन
त्यसो हुँदा फैलिनुपर्छ यो मन ।