दुर्घटनामा गम्भीर घाइते वडाध्यक्ष भट्टको निधन

प्रदेश मुख्य समाचार विषेश समाचार

बैतडी, ५ असार, २०७६ । मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते पुर्चौडी नगरपालिका वडा नं.–४, भटनाका वडाध्यक्ष एवम् नगर प्रवक्ता गौतमप्रसाद भट्टको मृत्यु भएको छ । मोटरसाइकल दुर्घटनामा परि गम्भीर घाइते भएका भट्टको उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा आज बिहान मृत्यु भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दीपक पातलीले जानकारी दिए ।

वडा कार्यालयबाट घर जाँदै गर्दा गत बुधबार वडा नं.– ४ को चक्की बगरमा बा २ ब २५२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा भट्टको टाउकोमा गम्भीर चोट लागेको थियो ।

दुर्घटनामा परि गम्भीर घाइते भएका भट्टको जिल्लामा उपचार हुन नसक्दा थप उपचारका लागि कोहलपुर रेफर गरिएको थियो । मेडिकल कलेजमा सघन उपचार कक्ष (आइसियु) राखेर उपचार हुँदाहुदै भट्टको बिहान ३ बजे मृत्यु भएको हो ।

यसैबीच वडाध्यक्ष तथा नगरप्रवक्ताको निधन भएपछि पुर्चौडी नगरपालिकाले बिहीबार शोकसभा पारित गर्दै एक दिन नगरपालिकाका सम्पूर्ण काम स्थगन गरिने नगरप्रमुख रण बहादुर कुँवरले बताए । मृतक भट्ट सत्तारुढ नेकपाका जिल्ला कमिटी सदस्यसमेत हुन् ।