हिलिहाङमा युवतीको हत्या गर्नेको पहिचान पनि हुन सकेन

ट्राफिक/प्रहरी मुख्य समाचार विषेश समाचार

पाँचथर, ४ जेठ, २०७६ । जिल्लाको हिलिहाङ–६ चित्रे भन्ने ठाँउमा माइक्रो फाईनान्समा बचत तथा ऋणको ब्याज संकलन गरेर कार्यालय तर्फ फर्किरहेकी २२ वर्षीया सुजता तामाङको घाटी रेटी हत्या भएको छ । मंगलबार साँझ हत्या गरी जंगलमा फालिराखेको अवस्थामा उनको शव फेला परेको थियो ।

बस्तीभन्दा केहीमाथि जंगलमा हत्या गरेर खोल्सीजस्तो ठाँउमा फ्याकिएको अवस्थामा शव फेलापरेको थियो । छाता र झोला भने सडकमा भेटिएको थियो ।

इलामको मागजोगमाई गाँउपालिका–५ कि तामाङ हिलिहाङ गाँउपालिका– ३ गोपेटारमा एनएमबी माईक्रो फाईनान्स शाखामा फिल्ड कर्मचारीको रुपमा कार्यरत रहेकी थिइन् । दुई समूहको बैठक सकेर उनी फर्किने क्रममा हत्या भएको पाइएको प्रहरीले जानकारी दिएको छ । उनको साथमा रहेको ७८ हजार ५ सय रुपैँयासमेत लुटेर लगेको खुल्न आएको छ ।

तर हत्यामा कसको संलग्नता थियो भन्ने कुरा अझै खुल्न सकेको छ । अनुसन्धानमा निक्कै ठुलो जनशक्ति परिचालन गरिए पनि कसले हत्या गरेको हो भन्ने प्रहरीले अझै पत्ता लगाउन सकिरहेको छैन । प्रहरीले घटना स्थलमा र सदरमुकामबाट विभिन्न किसिमबाट अनुसन्धान गरिरहे पनि यहि मान्छले हत्या गर्यो भन्ने आंशकासमेत गर्न सकिरहेको छैन । ‘लुट्ने नियतमात्र थियो कि अन्य कारणहरु पनि थिए अनुसन्धान पछि खुल्छ । अहिले यसै भन्न सकिने अवस्था छैन’ डिएसपी नरेन्द्र कुवँरले भने ।

पाँचथर जिल्ला अस्पतालमा मृतकको शवको पोष्टमार्टम भएको छ । फाइनान्सले साढे ७ लाख रुपैँया खर्च दिने र एकजना आफन्तलाई रोजगारी दिने सहमति भएपछि परिवारले शव बुझेका छन् । उनको इलाममै दाहसंस्कार हुने जानकारी दिइएको छ । ६ महिना अगाडिदेखि तामाङले जागीर सुरु गरेको उनका आफन्तले बताएका छन् ।