कोशीमा बगेर दुई बालक बेपत्ता

मुख्य समाचार समाज

उदयपुर, ४ असार, २०७६ । उदयपुर र खोटाङको सीमा भएर बग्ने दूधकोशीमा डुबेका उदयपुरका दुई बालक बेपत्ता भएका छन् । बुधबार बिहान पौडी खेल्न कोशी पसेका जिल्लाको लिमचुङबुङ गाउँपालिका १ बाँसबोटे बुत्कुका १४ वर्षीय प्रवीण राई र १६ वर्षीय देवकुमार राई डुबेर बेपत्ता भएको स्थानीयले बताएका छन् ।

गाउँपालिका अध्यक्ष मेजरकुमार राईकाअनुसार बेपत्ता हुने देवकुमार यसै वर्षको एसइई परीक्षा दिएर नतिजाको पर्खाइमा थिए । अर्का प्रवीण कक्षा ८ मा अध्ययनरत रहेको बताइएको छ । पौडी खेल्न गएका बालकद्वय कोशीमा डुबेर बेपत्ता भएको खबर पाएपछि नै प्रहरी र स्थानीयको टोली खोजी कार्यमा जुटेको गाउँपालिका अध्यक्ष राईले बताए । खबर आएलगत्तै दिउँसो ३ः३० बजेदेखि उनीहरुको खोजीमा इप्रका लिमचुङबङ र जिल्लाको टोली खटाइएको एसपी मगरले बताए ।

जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले बालकद्वय बेपत्ता भएको पुष्टि गरे । उनले डाँडामा घर भएका उनीहरु बेँसी खेतमा गोठमा बस्दै आएको र नुहाउन तथा माछा मार्न जाँदा डुबेर बेपत्ता भएको बताए ।

केही दिन यता अत्याधिक बढेको गर्मीले पहाडी भेगमासमेत जनजीवन प्रभावित पार्न थालेको छ । लामो समयदेखि पानी नपर्दा पहाडी भेगमा लगाइएका अन्नबाली खडेरीले सुकाउदै गएको र कतिपय गाउँमा खानेपानीको अभाव झेल्ने स्थानीयहरु कोशीको पानी खान, कोशीमै नुहाउन र लुगा धुन बाध्य हुनुपर्दा यस्तो घटना हुन पुगेको छ ।

तस्विर: सांकेतिक