हतुवागढी गाउँपालिकाका इन्जिनियर घुससहित पक्राउ

आजको बजार मुख्य समाचार विषेश समाचार

भोजपुर, ४ असार, २०७६ । अख्तियारले घुस लिँदै गरेको अवस्थामा इन्जिनियरसहित २ जनालाई पक्राउ गरेको छ । हतुवागढी गाउँपालिकाका इन्जिनियर मिसुहाङ्ग किरात र सव–इन्जिनियर नइन्द्र राईलाई घुस रकमसहित अख्तियारको टोलीले पक्राउ गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीबाट खटिएको टोलीले कार्यालयबाटै उनीहरुलाई पक्राउ गरेको हो । इन्जिनियर मिसुहाङ्ग किरातले ५० हजार र सव–इन्जिनियर नइन्द्र राईले २० हजार घुस लिएको अख्तियारले जनाएको छ । पक्राउ परेका दुवैजनालाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियार केन्द्रीय कार्यालयले विज्ञप्तिमार्फत जनाएको छ ।

रामप्रसाद राई गाउँपालिकाका दिनेश कार्कीले स्काभेटरले काम गरेको विषयमा घुस मागेपछि घुस दिएको सूचनाको आधारमा अख्तियारले समातेको हो । हतुवागढी–७ पात्लेपानीमा सडक निर्माणको क्रममा स्काभेटर प्रयोग भएकोमा दश लाख रकम निकासा नगरी घुस मागेको कारण बाध्य भएर अख्तियार गुहार्नु परेको कार्कीले बताए ।