दश जना यात्रु बोकेको जीप २२ घन्टादेखि कर्णाली नदीमा बेपत्ता

मुख्य समाचार विषेश समाचार समाज

हुम्ला, ४ असार । हुम्लाको कर्णाली नदीमा २२ घन्टा अघि खसेको जीपको अवस्था अझै थाहा हुन सकेको छैन । खोजीकार्य भइरहे पनि १० जना यात्रुसहित हराएको जीपको अवस्था थाहा हुन नसकेको हो ।

जिल्ला प्रहरी कार्यालाय हुम्लाका अनुसार खार्पुनाथमा भएको दुर्घटनापछि खटाइएको टोलीले खोजी कार्य तिव्र पारेको छ । तर, जीप र यात्रुको बारेमा कुनै जानकारी हुन सकेको छैन।

मंगलबारदेखि नै प्रहरी, सेना र स्थानीयले खोजी गरिरहेका छन् । मंगलबार दिउँसो १२ बजे लु१ज ७१६६ नम्बरको जीप खसेको थियो ।

जीप नदीको भेलमा खसेर जीप हराउँदा जीपमा सवार सबै यात्रु वेपत्ता भएका हुन् । करिब २२ घन्टाअघिदेखि हराइरहेको जीपका यात्रु सकुशल भेटिने सम्भावन न्यून रहेको प्रहरीले बताएको छ ।

बेपत्ता भएको जीप खोज्नका लागि बुधबार बिहान चितवनको कुरिनटारबाट सशस्त्र प्रहरीको गोताखोरसहितको टोली नेपाली सेनाको हेलिकप्टरमार्फत हुम्ला प्रस्थान गरेको छ ।

मंगलबरदेखि नै स्थानीय हेलिकप्टरको सहायतामा प्रहरी र नेपाली सेनासहितको टोलीले घटनास्थलमा जीप र यात्रुको खोजी गरिरहेका छन् ।