कृषकलाई धानको बीउ वितरण

कृषि मुख्य समाचार

रसुवा, २ असार, २०७६ । रसुवाको नौकुण्ड गाउँपालिकाको कृषि शाखाले दुई हजार ९ सय केजी धानको बीउ वितरण गरेको छ । धान रोप्ने समयमा बीउको अभाव हुन नदिन र उत्पादन बढाउनका लागि शाखाले खुमल ४ र खुमल १० जातको धानको बीउ वितरण गरेको हो । ‘खुमल–४ पकेट क्षेत्र’ का कृषकलाई ७५ प्रतिशत अनुदानमा १ हजार ७ सय केजी र पकेट बाहिरका कृषकलाई ५० प्रतिशत अनुदानमा १ हजार २ सय केजी धानको बीउ वितरण गरिएको शाखा प्रमुख शम्भुप्रसाद राईले बताए ।

शाखाका अनुसार २ हजार ४ सय केजी खुमल–४ र ५ सय केजी खुमल १० जातको धानको बीउ वितरण गरिएको छ । पाटीखर्कमा आगामी वर्षदेखि खुमल–४ धानको बीउ उत्पादन सुरु गरिने भएकाले त्यहाँ ७५ प्रतिशत अनुदानमा बीउ वितरण गरिएको हो ।

गत वर्ष १ हजार दुई सय केजी धानको बीउ वितरण गरेकोमा यस वर्ष २ हजार ९ सय केजी धानको बीउ वितरण गर्ने लक्ष्य थियो । पकेट क्षेत्रमा ७५ प्रतिशत र अन्य क्षेत्रमा ५० प्रतिशत अनुदानमा धानको बीउ वितरण गरिएको शाखाले जनाएको छ । ‘यसअघि पनि पाटीखर्कमा खुमल–४ धान उत्पादन हुँदै आएको थियो, राईले भने, तर बीउ बाहिरबाट किनेर ल्याउनुपर्ने अवस्था थियो ।’ यहाँ अन्य जातका धानको बीउ पनि लगाउने गरिएको छ । साबिकको सरमथली गाविस क्षेत्रमा विभिन्न जातका ३ सय ७१ मेट्रिक टन धान उत्पादन हुने गरेको छ ।

गाउँपालिकाले वडा नम्बर १ आरुखर्क क्षेत्रलाई लसुन, वडा नम्बर २ यार्सालाई वर्षे आलु, वडा नम्बर ४ सरमथलीलाई कफी, पाटीखर्कलाई खुमल–४ धान, वडा नम्बर ५ खाल्चेतलाई तरकारी, भोर्लेलाई फलपूmल, वडा नम्बर ६ लोकिललार्ई तरकारी पकेट क्षेत्र घोषणा गरेको छ ।

तस्विर: सांकेतिक