‘तेह्रौँ इक्यान बृहत शैक्षिक मेला २०७६’ आयोजना हुने

मुख्य समाचार विषेश समाचार शिक्षा

काठमाडौँ, २ असार, २०७६ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) ले ‘तेह्रौँ बृहत शैक्षिक मेला २०७६’ आयोजना गर्ने भएको छ । पछिल्ला परम्परालाई निरन्तरता दिँदै इक्यानले यही असार २६–२९ गते (११-१४ जुलाई २०१९) सम्म काठमाडौँको भृकुटीमण्डपमा शैक्षिक मेला आयोजना गर्न लागेको हो ।

शैक्षिक मेलाबाट विद्यार्थी, अभिभावक तथा अन्य सरोकारवालाले अन्तर्राष्ट्रिय शिक्षासम्बन्धी सही जानकारी र परामर्श पाउन् भनेर मेला आयोजना गरिएको इक्यानले जनाएको छ । यो शैक्षिक मेलामा एक लाख भन्दा बढिले अवलोकन गर्ने अपेक्षा गरिएको छ । करिब ४०० सय वटा स्टल रहने प्रदर्शनी गृह पूर्णतया डस्टफ्री जोन (धुलो मुक्त क्षेत्र) हुनेछ । प्रदर्शन क्षेत्रभरी फ्रि वाईफाई, लाइभ टक सोको व्यवस्था हुनेछ भने मेलाको अवलोकनलाई लक्षित बनाएर आउने विद्यार्थीहरुको लागि मात्र उपत्यकाका मुख्य रुटहरुबाट निःशुल्क बससेवाको व्यवस्था गरिएको जनाइएको छ ।

मेलामा सहभागिता जनाउन विभिन्न देशका राजदूताबास तथा कुटनीतिक नियोगहरुलाईसमेत आग्रह गरिएको इक्यानका अध्यक्ष विष्णुहरि पाण्डेले बताए । यस मेलामा इक्यानका सदस्य संस्थाका शैक्षिक परामर्श व्यवसायीहरु, स्वदेशी तथा विदेशी शैक्षिक संस्थाहरु तथा भारत, चीन, बंगलादेश, श्रीलंका, जापान, फ्रान्स, अमेरिका, बेलायत, न्युजिल्याण्ड, अष्ट्रेलिया, नर्वे, फिनलैण्ड, मलेसिया, जर्मन, डेनमार्क, साइप्रसलगायत देशका कलेज तथा विश्वविद्यालयका आधिकारिक प्रतिनिधिहरुको सहभागिता रहने पनि उनले जानकारी दिए ।

”नेपाली विद्यार्थीहरुलाई स्वदेशी एवम् विदेशी शिक्षा प्रणाली तथा प्राप्त योग्यताको भावि सम्भावना एवम् अवसरहरु जस्ता विषयमा पर्याप्त सूचना प्रवाह गर्नुका साथै स्वदेशी तथा विदेशी शैक्षिक संस्थाहरु, विश्वविद्यालयहरु र त्यहाँ प्राप्त हुन सक्ने छात्रवृत्ति, सुविधा एवम् गुणस्तरीय शिक्षामा नेपाली विद्यार्थीहरुको समुचित पहुँचको लागि परामर्श सेवा प्रदान गर्ने यस मेलाको प्रमुख उद्देश्य रहेको छ” अध्यक्ष पाण्डेले भने ।

”इक्यान बृहत शैक्षिक मेलामा वैदेशिक अध्ययनमा जाने हरेक विद्यार्थी तथा तिनका अभिभावकहरुको लागि, अन्तर्राष्ट्रिय शैक्षिक क्षेत्रका नवीनतम जानकारी, विभिन्न देशका शिक्षा नीतिहरु, नीतिमा आएका परिवर्तनहरु, रहन सहन, हावापानी, वातावरण, कलेज एवमं देश अनुसारको शुल्क तथा विदेश अध्ययनका लागि जाने नेपाली विद्यार्थीहरुका लागि चाहिने सबै विषयवस्तुहरुमा यथार्थ जानकारी लिन उचित थलो हुनेमा हामी विश्वस्त छौ” पत्रकार सम्मेलनमा वितरण गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

इक्यानको संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत यस मेलामा चारैदिन रक्तदान कार्यक्रम आयोजना गरिने पनि जनाइएको छ । जसमा प्राथमिक उपचार केन्द्र तथा डेन्टल क्याम्पको ब्यवस्था गरिने छ । यो मेलालाई वर्ल्ड विजनेस म्यानेजमेन्ट एण्ड कन्सल्ट्यान्टस् प्रा. लि. ले व्यवस्थापन गरेको हो भने मुख्य प्रायोजकको रुपमा ब्रिटिस काउन्सिल रहेको छ । यसैगरी टाइटल स्पोन्सरको रुपमा राइट पाथ एजुकेशन कन्सल्टेन्सी र सहयोगी पार्टनरको रुपमा भिष्टा एजुकेशन कन्सल्टेन्सी रहेका छन् ।