प्रत्येक वडामा स्वास्थ्य संस्था निर्माण गर्ने कार्यक्रम अलपत्र

मुख्य समाचार विषेश समाचार स्वास्थ्य

काठमाडौँ, १ असार, २०७६ । प्रत्येक वडामा स्वास्थ्य संस्था निर्माण गर्ने सरकारको नीति छ । चालु आर्थिक वर्षभित्र पहिलो चरणमा १२ सय वडामा स्वास्थ्य संस्था निर्माण गर्ने सरकारको नीति भए पनि अधिकांश वडामा काम सुरु समेत हुन सकेको छैन ।

मुलुकमा अहिले ६ हजार ७ सय ४३ वडा छन् । तर, ती मध्ये करिब २५ सय वडा स्वास्थ्य संस्था बिहिन छन् । स्वास्थ्य सेवा पाउने अधिकारलाई सुनिश्चित गर्न सरकारले सबै वडामा स्वास्थ्य संस्था निर्माण गर्ने नीति पनि लियो । तर चालु आर्थिक वर्षमा १२ सय र आगामी आर्थिक वर्ष १३ सय वडामा गरी दुई वर्ष भित्र प्रत्येक वडामा स्वास्थ्य स‌ंस्था निर्माण गर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको योजना छ । तर हालसम्म पनि अधिकांश वडामा निर्माणको काम सुरु हुन सकेको छैन भने कतै बल्ल सुरु हुँदैछ ।

निर्माणको छनोटमा परेका वडामध्ये वीरगन्ज महानगरपालिकाको विभिन्न वडा पनि परेको छ । तर त्यहाँ पनि बल्ल टेण्डर आह्वानको काम सुरु भएको महानगरपालिकाको स्वास्थ्य महाशाखाले जनाएको छ ।

१२ सय वडामा स्वास्थ्य संस्था निर्माणका लागि सरकारले चालु आर्थिक वर्षमा चार अर्ब बजेट छुट्याएको मन्त्रालयले जनाएको छ । पहिलो चरणमा १२ सय वडामा स्वास्थ्य संस्था निर्माण गरिने भनिए पनि कति वडामा काम सुरु भए कतिमा पुरा भए भन्ने यकिन तथ्यांक स्वास्थ्य मन्त्रालयसँग छैन । मन्त्रालयको नीति योजना तथा अनुगमन महाशाखा प्रमुख डा. विकास देवकोटा भन्छन्, ‘धेरैमा काम सुरु हुँदैछ, कति हुने क्रममा छन् । तर यति नै भन्ने छैन ।’

यसको कार्यविधि जनप्रतिनिधिले नबुझ्दा समस्या भएको उनको भनाई छ । आगामी आर्थिक वर्षमा सबै वडामा स्वास्थ्य संस्था निर्माण नभए पनि सेवा भने सुरु हुने उनको दाबी छ । आगामी वर्ष सबै वडामा स्वास्थ्य स‌ंस्था निर्माण नहुन सक्छ, उनले भने तर सेवा भने हामी जसरी पनि सुरु गर्छौ ।

स्थानीय तहसँगको समन्वय महत्वपूर्ण मानिए पनि संघीय संरचना र स्वास्थ्य मन्त्रालयको अझै तालमेल मिलेको छैन् । त्यसैले सरकारले ल्याएका विभिन्न नयाँ र राम्रा कार्यक्रमहरु यसरी नै अलमलिरहेका छन् ।