ट्रकको ठक्करबाट आमा–छोरीको मृत्यु

ट्राफिक/प्रहरी मुख्य समाचार समाज

रौतहट, १ असार, २०७६ । रौतहटमा ट्रकको ठक्करबाट आमा–छोरीको ज्यान गएको छ । जिल्लाको दधियाभार चौक नजिक एक ट्रकले विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा आमा र छोरीको घटनास्थलमै मृत्यु भएको हो ।

रौतहटको कटहरिया झाझ पुल सडकखण्डमा लु १ क ३५६४ नम्बरको मालबाहक ट्रकले विपरित दिशाबाट कटहरिया तर्फ गइरहेको ना २१ प ४७० नम्बरको मोटरसाइकललाई शनिबार साँझ ६ः४५ बजेको समयमा ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

मोटरसाइकलमा चालक कटहरीया नगरपालिका–१ भसेढवा निवासी दिलिप साह भने सकुशल रहेका छन् । मोटरसाइकलको पछाडि बसेका उनकी ३० वर्षीया श्रीमती सुगान्धी देवी र ५ वर्षीया छोरी अम्बिका कुमारीको घटनास्थलमै मृत्यु भएको रौतहट प्रहरीका डिएसपी नवीन कार्कीले बताए । ठक्कर दिने ट्रक प्रहरीको नियन्त्रणमा रहेको तर फरार चालकको खोजी कार्य तिव्र रहेको उनले जानकारी दिए ।