नेकपाकै सांसदले मागे मन्त्री बाँस्कोटाले राजीनामा

मुख्य समाचार राजनीति

काठमाण्डौ, १ असार, २०७६ । नेकपाका नेता तथा सांसद रामवीर मानान्धरले सूचना तथा संचार प्रविधि मन्त्री गोकुल बाँस्कोटाको राजीनामा मागेका छन् । शनिबार आयोजित एक विशेष बहसमा बोल्दै सत्तारुढ दलकै नेता मानन्धरले गुठीलाई सामन्ती पं्रथासँग जोडेकोमा कडा आपत्ति जनाउँदै मन्त्री बाँसकोटाको राजीनामा मागेका हुन् ।

‘सरकार प्रवक्ताको रुपमा जसलाई सामन्ती भन्नुभएको छ त्यो फिर्ता लिनुस्, होइन भने राजीनामा दिनुस् । प्रवक्ता जनताको हो । धेरै ठूलो स्वरले बोल्ने होइन’ उनले भने । सडकमा ओर्लिएका जनतालाई सान्त्वना दिनुपर्नेमा मन्त्री बाँस्कोटाले आगोमा घीउ थप्ने काम गरेको मानन्धरको आरोप छ । ‘संचारमन्त्रीजी, कि क्षमा माग्नुस्, कि राजीनामा दिनुस्’ उनले भने ।

मुलुक चिनाउने गुठीलाई सामन्तवादको सूचक भनेको भन्दै मानन्धरले राजीनामा नै माग्नुपर्ने अवस्था आएको पनि बताए । ‘आज गुुठियारहरुलाई जसरी आक्षेप लगाउने र अपमान गर्ने गरिएको छ, यसले अब मन्त्रीहरुको दिनगन्ती सुरु भएको छ’ मानन्धरले भने ।

मन्त्रीहरुको यस्तै प्रवृत्ति जारी रहे गणतन्त्रसमेत धरापमा पर्ने उनको तर्क थियो ।

प्रधानमन्त्री केपी ओली फर्किएपछि पनि विधेयक फिर्ता लिने निर्णय नगरे काठमाण्डौमा आन्दोलनको आँधीबेहेरी ल्याउने चेतावनीसमेत मानन्धरले दिएका छन् ।

‘म यहीँबाट भन्न चाहन्छु, यदी प्रधानमन्त्रीले पनि फिर्ता लिन चाहनुभएन भने हेर्दैगर्नु होला काठमाडौँ के हुन्छ । यो मेरो चुनौति होइन, सरकारलाई सुझाव हो’ उनले भने ।