सरकार चौतर्फी मुठभेडमा, अधिकांश विधेयक विवादित

आजका पत्रपत्रिका मुख्य समाचार

काठमाडौं, १ असार । आजको नयाँ पत्रिका दैनिकले ‘सरकार चौतर्फी मुठभेडमा’ शीर्षकको समाचारलाई मुख्य समाचार बनाएको छ । सरकारले ल्याएका विभिन्न विधेयकमध्ये ४ विधेयक विवादमा परेको र अन्य विधेयक पनि विवादास्पद रहेकाले सरकार घेराबन्दीमा परेको बताएको हो ।

नयाँ पत्रिकाले थप लेखेको छ, ‘एकीकृत जनमत पाएको सरकार ‘सिंगल–सिंगल’ भिड्न खोज्दा आफैं घेराबन्दीमा परेको, र समृद्धिको यात्रासमेत बरालिएको छ ।’ सरकारले मिडिया काउन्सिलमार्फत प्रेसलाई निशानामा पारको छ । सरकारले २७ वैशाखमा राष्ट्रिय सभामा दर्ता गरेको मिडिया काउन्सिल विधेयकका मुख्यतः तीन व्यवस्थाविरुद्ध पत्रकार महासंघ आन्दोलनमा छ । काउन्सिल विधेयकमा महासंघले सबैभन्दा असन्तुष्टि जनाएको दफा १८ हो ।

यस्तै, लोकसेवा विज्ञापनमा महिला, मधेसी, जनजातिमाथि अन्याय गरेको र संसदलाई अवहेलना गरेकाले सरकार यसमा पनि विवादित बनेको छ । स्थानीय तहमा कर्मचारी पूर्ति गर्न १५ जेठमा लोकसेवा आयोगले खोलेको विज्ञापन विवादित बनेको हो । सत्तारुढ नेकपाकै सांसद शशी श्रेष्ठ सभापति रहेको संसद्को राज्य व्यवस्था तथा सुशासन समितिले विज्ञापन संविधान र संघीयताको मर्म विपरित भएको भन्दै रद्द गर्न निर्देशन दिएको छ । विज्ञापनको पक्ष र विपक्षमा आन्दोलन भईरहेको छ ।

‘राष्ट्रिय मानवअधिकार आयोग ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक’ले अधिकार कटौती गर्न खोजेको भन्दै मानवअधिकार आयोगले आपत्ति जनाएको छ । चैत अन्तिम साता संसद्मा दर्ता गरिएको विधेयकका केही व्यवस्थाले अधिकार कटौती गर्न खोजेको आयोगले जनाएको छ ।

त्यसैगरी, गुठी विधेयक ल्याएर सरकारले संस्कृतीमाथि धावा बोलेकोभन्दै गुठियार आन्दोलित भएका छन् । सरकारले देशभरीका गुठीलाई व्यवस्थित गर्न भन्दै १७ वैशाखमा संसद्को राष्ट्रिय सभामा ‘गुठीसम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक, २०७५’ दर्ता गरेको थियो । तर, गुठीको अस्तीत्व समाप्त पार्न खोजेको र संस्कृतीमाथि धावा बोलेको भन्दै गुठियारहरु सरकारविरुद्ध खनिएका छन् । यस विधेयकको पनि पक्ष र विपक्षमा आन्दोलन भईरहेको छ ।

यस्तै सरकार इन्डो–प्यासीफिक रणनीतिको विवादमा समेत फसेको भन्दै नयाँ पत्रिकाले घरेलु मुद्दामा फसेको सरकार वैदेशिक मामिलामा पनि विवादित र आलोचित भएको उल्लेख गरेको छ ।