मुख्यमन्त्री गुरुङ भन्छन्, ‘शिक्षा प्रणाली महंगो हुँदै गयो’

प्रदेश मुख्य समाचार

तनहुँ, ३१ जेठ, २०७६ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मुलुकमा शिक्षा प्रणाली महगिंदै गएकोमा चिन्ता व्यक्त गरेका छन् । उनले भने, ‘आम नगारिकको पहुँचबाट गुणस्तरिय शिक्षा टाढा हुँदै गएको छ ।’

दुलेगौँडामा पञ्चमुनिदेव माविको नवनिर्मित १६ कोठे भवनको उद्घाटन गर्दै उनले बजारमा माग भए अनुरुपको जनशक्ति विद्यालय, क्याम्पस र विश्वविद्यालयले उत्पादन गर्न नसकेको टिप्पणी गरे । उनले भने, ‘बजारले एउटा कुरा मागी राखेको छ, हामीले अर्कै उत्पादन गरिरहेका छौँ । आर्थिक समुन्नती र सम्वृद्धीका लागि प्राविधिक शिक्षाको आवश्यकता छ । अहिलेसम्म प्रमाणपत्रधारी विद्यार्थी उत्पादन गरिराख्यौँ ।’ सिपयुक्त जनशक्ति उत्पादन नभएकाले राष्ट्रिय आकांक्षा ‘सम्बृद्ध नेपाल सुखी नेपाली’ पुरा नहुने उनले बताए ।

मुख्यमन्त्री गुरुङले प्राविधिक जनशक्ति उत्पादनमा प्रदेश सरकारले शुक्लागण्डकीको बेलचौतारामा गण्डकी प्राविधिक विश्वविद्यालय स्थापना गर्न लागेको बताए । ‘आगामी वर्षदेखि काम सुरु हुन्छ’, उनले भने, ‘विश्वविद्यालयको बजेट ८ अर्ब अनुमान गरिएको छ ।’