सिन्धुलीमा भएका छुट्टाछुट्टै घटनामा २ जनाको मृत्यु, १ जना बेपत्ता

मुख्य समाचार समाज

सिन्धुली, ३१ जेठ, २०७६ । सिन्धुलीमा छुट्टाछुट्टै घट्नामा परि २ जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् । यहाँको कमलामाई नगरपालिका ८ पाथिपरान रातुझोरा बगरमा जङगली हात्तीको आक्रमणबाट एक महिलाको ज्यान गएको छ । सिन्धुली सदरमुकामबाट घर फर्कने क्रममा पाथिपरान मगरटोल सिरान बस्ने वीरबहादुर राना मगरकी वर्ष ३५ की श्रीमती सितामाया रानामगरको हात्तीको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

यस्तै बिहीबार साँझ चट्याङ पर्दा सिन्धुलीको दुधौली नगरपालिका १ हत्पते गिचियानीका ४० वर्षीय भीमनाथ कुमरको ज्यान गएको छ । बाख्रा चराएर घर फर्कने क्रममा कुमरलाई बाटोमै चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी लोकदर्शन थापाले जानकारी दिए ।

यसैगरी सुनकोशीमा पौडी खेल्ने क्रममा एक जना बेपत्ता भएका छन् । काठमाण्डौबाट कुशेश्वर महादेव मन्दिरको दर्शन गर्न साथीसँगै आएका काठमाडौँ कीर्तिपुर घर भएका अन्दाजी ३० वर्षीय अमृत लामा पौडी खेल्ने क्रममा बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।