‘गल्लैलाउरे’ लोकगीतमा विप्रलम्भ श्रृङ्गार रस [अनुसन्धानमूलक लेख]

मुख्य समाचार विचार
  • तुलसीराम खनाल ‘प्रवास’

१. विषय प्रवेश

नेपाली लोकगीतको बाह्रमासे गीतको एउटा प्रकारको रूपमा रहेको ‘गल्लैलाउरे’ लोकगीत नेपाली समाजमा लोकप्रिय गीतको रूपमा परिचत छ । नेपालको पश्चिमाञ्चल विकासक्षेत्रको पर्वत जिल्ला र स्याङ्जा जिल्लाको पश्चिमी भूभागमा बसोबास गर्ने विशेषतः ब्राह्मण तथा क्षेत्री जातका मानिसहरूले र सँगसँगै मगर तथा गुरुङ जातका मानिसहरूले समेत ढिलो लयमा यो गीत गाउने गर्दछन् । यो गीतलाई खेली गीतको एउटा प्रकारका रूपमा पनि लिन सकिन्छ (प्रवास, २०७१ः १८६) । खेली गीत र गल्लैलाउरे गीतको संरचना एउटै खालको हुने भएकोले खेली गीतकै एउटा प्रकार मान्न सकिने आधार यस गीतमा रहेको छ । यस्ता लोकगीतमा अन्जानमै भए पनि लय, छन्द, विम्ब, अलङ्कार आदि काव्यात्मक गुणहरू भित्रिएका हुन्छन् ।

प्रायः एकान्त स्थलमा गाइनु, गायनमा यौवन तथा वृद्धवस्थाका मानिस सहभागी हुनु, यसै समयमा गाउनुपर्छ भन्ने वाध्यता नहुनु, सङ्क्षिप्तदेखि विस्तृत आकृतिको संरचना हुनु, समाजका विविध पक्षलाई विषयवस्तु बनाउनु, स्थानीय जातिगत नेपाली लोकभाषाको बहुल प्रयोग हुनु, मुख्यतः एकालापीय वर्णनात्मक शैलीको बहुलता हुनु, स्थायी र थेगोको प्रयोग नहुनु, कतिपय अवस्थामा सिङ्गो अन्तरालाई दोहोर्याएर दुई पङ्क्तिको अन्तरालाई चार पङ्क्तिको बनाउनु, अक्षरअक्षरमा विश्राम लिँदै ढिलो लयमा गाइनु, नृत्यको अभाव र बाजाको अनिवार्यता नहुनु आदि यसका विशेषता हुन् (न्यौपाने, २०६६ः १२४) । यसका साथै गल्लैलाउरे लोकगीतमा महिला तथा पुरुषको एकल तथा दोहोरी प्रस्तुति रहनु, दोहोरी प्रायः मध्य रातको सुनसानमा गाइनु, उच्चारणमा अस्पस्टता हुनु आदि पनि यसका विशेषता अन्तर्गत पर्दछन् । यस लेखमा विषय प्रवेश, गल्लैलाउरे गीतको नामकरण र ऐतिहासिक सन्दर्भ, विप्रलम्भ श्रृङ्गार रस र गल्लैलाउरे गीत शीर्षकमा गल्लैलाउरे नामको लोकगीतमा विप्रलम्भ श्रृङ्गार रसको अवस्थाको बारेमा चर्चा गरिएको छ ।

२. गल्लैलाउरे गीतको नामकरण र ऐतिहासिक पृष्ठभूमि
कुनै पनि नामले एउटा अर्थ बोकेको हुन्छ । गल्लैलाउरे गीतले पनि तत्कालीन समयको सन्दर्भलाई अर्थपूर्ण रूपमा प्रस्तुत गरेको छ । यो ऐतिहासिक परिवेश बोकेको गीत हो । नेपाली युवाहरूको विदेशिने घटनासँग यो गीत सम्बन्धित छ । इतिहासले जन्माएको पीडा गीतहरूमा रस बनेर छताछुल्ल पोखिएको पाइन्छ । ‘गल्ला’ र ‘लाउरे’ शब्दको मेलबाट ‘गल्लालाउरे’ शब्द बनेको हो भने यही ‘गल्लालाउरे’ शब्द उच्चारणको क्रममा अपभ्रंश हुँदै ‘गल्लैलाउरे’ हुन पुगेको कुरा यस गीतका गायक, गायिकाहरूको कथन छ । यस गीतलाई ठाउँअनुसार गल्लालाउरे, गल्लैलाउरे, गल्लैलागुरे, गल्लालागुरे आदि विविध नामले सम्बोधन गर्ने गरिन्छ । लाउरे हुने र लाउरे बनाउने चलनसँगै जन्मिएको मानिएको यस गीतलाई गायकगायिकाहरूले गल्लैलाउरे नै भनेर सम्बोधन गर्ने गर्दछन् ।

हरेक लोकगीतको आफ्नो एउटा इतिहास हुन्छ । त्यही इतिहासकै आधारमा लोकले त्यस गीतको नामकरण गरेको हुन्छ । इतिहासको कुनै घटनासँग लोकगीतको कतै न कतै सम्बन्ध जोडिएको पनि हुन सक्छ त्यसलाई पनि ऐतिहासिक सन्दर्भको रूपमा लिन सकिन्छ । गल्लैलाउरे गीत पनि विश्वइतिहासको त्यस मार्मिक घटनासँग सम्बन्धित छ जसले सारा विश्वलाई प्रभावित पारेको थियो । गल्लैलाउरे लोकगीत कहिलेदेखि गाउन थालियो भन्ने एकिन गर्न गाह्रो छ । वर्षौँ अगाडिदेखि गाउन सुरु गरिएको गल्लैलाउरे गीतसँग यसको संरचना दुरुस्त मिल्नुले यसलाई गल्लैलाउरेकै एउटा लयगत भेदको रूपमा लिन सकिन्छ । यस गीतलाई ‘गल्लैलाउरे’ भनेर नामकरण भने दोस्रो विश्वयुद्धको समय देखि भएको अनुमान गर्न सकिन्छ । यही समयलाई नै यसको ऐतिहासिक सन्दर्भको रूपमा लिन सकिन्छ । दोस्रो महायुद्धको समयमा गल्लाहरू नेपालका गाउँगाउँमा आएर नेपाली युवाहरूलाई भर्ति गरेर लैजाने चलन थियो । त्यतिबेला उनीहरूको चालचलन तथा व्यवहारबाट नेपाली युवतिहरू छिटै प्रभावित हुन्थे भने अर्कोतर्फ आ–आफ्ना दाजुभाइलाई भर्तिमा लैजाने लोभले पनि उनीहरू गल्लाहरूसँग नजिक हुन चाहन्थे । नजिकिदै जाँदा उनीहरू अन्जानमै ति गल्लाहरूलाई प्रेम गर्न पुग्दछन्् । गल्लाहरूको विदाइ तथा गाउँका जवानहरूको विदाइको समयमा रातभर नाचगानका कार्यक्रमहरू गर्ने चलन त्यतिबेला थियो । आफ्नो काम सकेर गल्लाहरू फर्कने क्रममा रातभर गीत गाएर नेपाली चेलीहरूले उनीहरूलाई विदाइ गर्दथे भने अर्कोतर्फ आफ्नो प्रेमी भर्तिमा जान लागेको पीडाले पनि नेपाली चेलीहरूको मन द्रवित हुन पुग्दथ्यो । यस्तै विछोडको अवस्थामा गाउने गीत नै गल्लैलाउरे गीत हो भनी गाउँलेहरू भन्दछन्् । यस्ता गीतहरू पछि गएर अन्य सन्दर्भमा पनि गाउन थालियो । यही सन्दर्भ नै गल्लैलाउरे लोकगीतको ऐतिहासिक सन्दर्भ हो ।

३. विप्रलम्भ श्रृङ्गार रस र गल्लैलाउरे गीत
३.१ विप्रलम्भ श्रृङ्गार

संस्कृत समालोचना सिद्धान्तका विभिन्न वाद तथा सिद्धान्तहरूमध्ये रस सिद्धान्त प्रमुख रूपमा देखापर्दछ । वैदिक युगदेखि नै रस शब्दलाई अथ्र्याउने प्रयास गरिएको छ । साहित्यमा रसको इतिहास श्रुतिकालदेखि नै प्रारम्भ हुन्छ । तैत्तीरीयोपनिषदमा भनिएको छ– ‘रसो वै सः । रसंह्येवायंलब्ध्वानन्दी भवति ।’ अर्थात ‘त्यो रस नै हो । रसलाई पाएर नै त्यो आनन्दित हुन्छ ।’ रस काव्यको वस्तुसँग सम्बन्धित एउटा तत्त्व हो । रस सम्प्रदाय संस्कृत साहित्यको प्रधान र जेठो सम्प्रदाय हो । यसको विवेचना सर्वप्रथम भरतमुनिको नाट्यशास्त्रमा भएको पाइन्छ । लोक र साहित्य तथा शास्त्रमा पनि यसको प्रयोग विभिन्न अर्थमा भएको हुन्छ (उपाध्याय, २०६१ ः १९) । ‘रस्यते असौ रसः’ अर्थात् जसको आस्वादन गर्न सकिन्छ । जिभ्राले स्वाद लिन, चुस्न वा चाट्न सकिने तरल वस्तुलाई रस भन्न सकिन्छ ‘रसते इति रसः’ भन्ने गरेको पनि पाइन्छ । ‘रस्’ धातुमा ‘अच्’ कर्मवाच्य (रस. अ . अच् प्रत्यय) को प्रयोगबाट बनेको रस शब्दको अर्थ हुन्छ, आस्वादनको विषय वा पदार्थ । रस सारतत्त्व भएकाले आत्मीय तत्त्वका रूपमा पनि देखापर्दछ । साहित्यमा रसको अर्थ हृदयात्मक हुन्छ । व्याकरणमा रस शब्दको निर्माण आस्वादनार्थ रस धातुमा ‘अ’ प्रत्यय लगाएर बनाए तापनि ‘रस्यते असौ रस’ नै धेरै प्रचलित छ ।

पूर्वीय काव्यशास्त्रमा विभिन्न रसहरूमध्ये श्रृङ्गाररसलाई विशेष महत्त्व दिएको पाइन्छ । भोजराजले श्रृङ्गार रसलाई मात्र रस मानेका छन् । धेरै आचार्यहरूले रसराजको रूपमा श्रृङ्गार रसको व्याख्या गरेका छन् । श्रृङ्गार शब्दको व्युत्पत्ति ‘शृङ्ग ऋच्छति इति श्रृङ्गारः’ अनुसार पनि शृङ्गको अर्थ कामुक जोडी हुन्छ । कामदेव अङ्कुरित हुनेलाई शृङ्ग भनिन्छ । कामदेव उत्पत्ति हुने हुँदा श्रृङ्गार रस उत्तम प्रकृतिको हुन्छ (विश्वनाथ, १९७६ : २३०) । रति स्थायीभाव हुने श्रृङ्गार रसको वर्ण कालो र देवता विष्णु हुन्छन् भन्ने नाट्यशास्त्रमा उल्लेख गरिएको छ । मनोहर तथा उज्ज्वल वेषात्मक पनि हुनाले श्रृङ्गाररस भन्ने यसको नाम आचारसिद्ध छ (भरत, १९५४ : १११) । भौतिक, आध्यातिमक, मानसिक, शारीरिक आदि प्रेमप्रसङ्गमा बाँधिएका प्रेमीप्रेमिकाका नैसर्गिक कामवासना, आकर्षण आदिलाई श्रृङ्गार रसको विषयवस्तु बनाइएको हुन्छ । रति, वसन्तऋतु, शरदऋतु, माला, चन्द्रमाजस्ता वस्तु वा विषयको अनुभवद्वारा रति उत्पन्न हुने हुँदा हर्षदृष्टि, प्रसन्नता, कामवासनाले युक्त कटाक्षसहितको अवस्थाले स्थायीभावलाई रसावस्थामा पुर्याएको हुन्छ भन्ने भनाइ आचार्यहरूको छ । भरतको नाट्यशास्त्रमा श्रृङ्गार रसका भेदमा संयोग र विप्रलम्भको चर्चा गरिएको छ । अभिनव गुप्तले भने धर्म श्रृङ्गार, अर्थश्रृङ्गार र कामश्रृङ्गार गरी तिनप्रकारका भेदको उल्लेख गरेका छन् । रुद्रटले संयोग र विप्रलम्भ दुईप्रकारको देखाउँदै विप्रलम्भ श्रृङ्गारका अनुराग, मान, प्रवास र करुण गरी चार भेद देखाएका छन् । विभिन्न आचार्यहरूले श्रृङ्गार रसका भेद–उपभेदको चर्चा आ–आफ्नै प्रकारले गरे पनि मुख्यरूपमा संस्कृत काव्यशास्त्रमा संयोग र विप्रलम्भ गरी दुई प्रकारका श्रृङ्गार रसको चर्चा विशेष रूपमा गरिएको पाइन्छ ।

नायक–नायिकाका बीच वैयक्तिक, सामाजिक, आर्थिक वा अन्य कुनै बाधा बन्देजका कारण प्रेम सम्बन्ध कायम हुन नसकेको अथवा पूर्व स्थापित प्रेम सम्बन्ध बीचैमा पूर्णतः वा अंशतः टुट्न गई नायक–नायिका बीच वियोग भएको स्थितिको वर्णन भएको अभिव्यक्तिलाई वियोग शृङगारको अभिव्यक्ति भनिन्छ । यसलाई विप्रलम्भ श्रृङ्गार पनि भनिन्छ । यसमा रति स्थायीभाव रहेको हुन्छ । आलम्बन विभावको रूपमा नायक–नायिका, उद्दीपन विभावको रूपमा पूर्वस्मृति, स्मृति चिन्ह, प्रकृति, एकान्त स्थल आदि रहेको हुन्छ । त्यसका साथै अनुभावको रूपमा छट्पटाउनु, पिरोलिनु, आँसु झार्नु, टोलाउनु, विह्वल हुनु आदि रहेका हुन्छन् भने व्यभिचारीभावका रूपमा धैर्य, स्मृति, विषाद, ग्लानि, चिन्ता, वितर्क, चपलता आदि आएका हुन्छन् । भरतको रससूत्रअनुसार वियोग श्रृङ्गारका रससामग्रीलाई यसप्रकार प्रस्तुत गरिन्छ :

(१) स्थायीभाव — रति वा प्रेम
(२) विभाव :
आलम्बन विभाव — प्रेमी वा प्रेमिका
उद्दीपन विभाव — पूर्वस्मृति, स्मृति चिहृन, अनुकूल ऋतु, प्राकृतिक सौन्दर्य, एकान्त स्थल ।
(३) अनुभाव — छट्पटाउनु, पिरोलिनु, आँसु झार्नु, टोलाउनु, विकल हुनु ।
(४) व्यभिचारीभाव — चिन्ता, वितर्क, ग्लानि, स्मृति, धैर्य, विवाद, चपलता आदि ।
(भरत, १९५४ : ११२)

३.२ गल्लैलाउरे गीतमा विप्रलम्भ श्रृङ्गार रसको प्रयोग
गल्लैलाउरे गीतमा नायकनायिकाको मिलनको आशालाई जगाउने प्रवृत्ति विद्यमान हुन्छ । यस्ता गीतमा नायक–नायिकाका बीच वैयक्तिक, सामाजिक, आर्थिक वा अन्य कुनै बाधा बन्देजका कारण प्रेम सम्बन्ध कायम हुन नसकेको अथवा पूर्व स्थापित प्रेम सम्बन्ध बीचैमा पूर्णतः वा अंशतः टुट्न गई नायक–नायिका बीच वियोग भएको स्थितिको वर्णन भएको अभिव्यक्ति प्रशस्त मात्रामा हुने भएकोले यिनमा विप्रलम्भ शृङगारको भाव अभिव्यक्त भएको पाउन सकिन्छ । विप्रलम्भ श्रृङ्गारमा रति (प्रेम) भने पूरा छ तर आफ्नो प्रिय वा प्रियाको लाभ भने भएको हुँदैन । यो पूर्वराग, मान, प्रवास र करुण गरी चार प्रकारको हुन्छ (शर्मा, २०५८ : १५२) । यसमा रति स्थायीभाव रहेको हुन्छ । आलम्बन विभावको रूपमा नायक–नायिका, उद्दीपन विभावको रूपमा पूर्वस्मृति, स्मृति चिन्ह, प्रकृति, एकान्त स्थल आदि रहेको हुन्छ । त्यसका साथै अनुभावको रूपमा छट्पटाउनु, पिरोलिनु, आँसु झार्नु, टोलाउनु, विह्वल हुनु आदि रहेका हुन्छन् भने व्यभिचारीभावका रूपमा धैयर्, स्मृति, विषाद, ग्लानि, चिन्ता, वितर्क, चपलता आदि आएका हुन्छन् । गल्लैलाउरे गीतमा घटीत् विप्रलम्भ श्रृङ्गार रसलाई यसप्रकार उल्लेख गरिएको छ :

(क) ए दाइ….मरेँ असेटैले
मरिँदैन भन्थ्यौ नि ।।
स्थायी भाव : प्रेम
विभाव
आलम्बन विभाव : दाइ (नायक)
उद्दीपन विभाव : पूर्वस्मृति
अनुभाव : पिरोलिनु
व्यभिचारी भाव : स्मृति

प्रस्तुत गल्लैलाउरे गीतमा नायक (दाइ) ले नायिकालाई छोडेर कतै टाढा वा विदेश गएको प्रसङ्गको वर्णन भएको छ । प्रेमिकाले गीत गाउने सिलसिलामा आफ्नो प्रेमीलाई दाइ भनेर सम्बोधन गरे पनि उनीहरू दाजुबहिनी चाहिँ हैनन् । गल्लैलाउरे गीत गाउँदा गायिकाले ‘ए दाइ…’ र गायकले ‘बैनी हो…’ भन्ने थेगो प्रयोग गर्ने गर्दछन् । आफूलाई छोडेर जाने प्रेमीको असेट लागेर मर्नै आँटेको कुरा यहाँ पे्रमिकाले व्यक्त गरेकी छन् । यहाँ प्रेमी नायक हो । नायकको स्मृति यसको उद्दीपन विभाव हो । उसको स्मृतिले गर्दा नायिका पिरोलिएकी छन् । त्यसले स्मृति प्रकट भएको छ । त्यसैले यस गीतमा नायक(दाइ) आलम्बन विभाव, पूर्वस्मृति उद्दीपन विभाव, पिरोलिनु अनुभाव र स्मृति व्यभिचारी भावको माध्यमबाट दर्शक÷स्रोताको मनभित्र रहेको प्रेम स्थायी भाव जागृत भई विप्रलम्भ श्रृङ्गार रसको परिपाक भएको छ ।

(ख) असेटैले नि भन्दा
लसेटैले मरियो ।।
स्थायी भाव : प्रेम
विभाव
आलम्बन विभाव : नायिका
उद्दीपन विभाव : पूर्वस्मृति
अनुभाव : पिरोलिनु
व्यभिचारी भाव : स्मृति

प्रस्तुत गल्लैलाउरे गीत माथिको ‘क’ नम्बरकै गीतको जवाफमा नायकले भनेको हो । असेटले म मर्नै लागेँ भनेर नायिका पिरोलिँदा नायकले असेट भन्दा पनि लसेटले मरियो भनेको छ । लसेट भनेको असेटको पनि असेट हो । यसबाट नायिकालाई भन्दा पनि नायकलाई दोब्बर असेट लागेको प्रसङ्ग वर्णन भएको बुझ्न सकिन्छ । यसमा नायक (दाइ) ले नायिकालाई छोडेर कतै टाढा वा विदेश गएको प्रसङ्गको वर्णन भएको छ । आफूले प्रेमिकालाई छोडेर हिँडे पनि लसेटले मर्नै आँटेको कुरा यहाँको नायकले व्यक्त गरेको छ । यहाँ प्रेमी नायक हो । नायिकको स्मृति यसको उद्दीपन विभाव हो । उनको स्मृतिले गर्दा नायक पिरोलिएको छ । त्यसैले यस गीतमा नायिका आलम्बन विभाव, पूर्वस्मृति उद्दीपन विभाव, पिरोलिनु अनुभाव र स्मृति व्यभिचारी भावको माध्यमबाट दर्शक÷स्रोताको मनभित्र रहेको प्रेम स्थायी भाव जागृत भई विप्रलम्भ श्रृङ्गार रसको परिपाक भएको छ ।

(ग) सम्झी… रुन्छु दशै धारा
अचेल काँ छौ पियारा ।।
स्थायी भाव : प्रेम
विभाव
आलम्बन विभाव : नायक
उद्दीपन विभाव : एकान्त स्थल
अनुभाव : आँसु झार्नु, विकल हुनु
व्यभिचारी भाव : स्मृति

प्रस्तुत गीतमा नायक (प्रेमी) लाई सम्झेर नायिका (प्रेमिका) दशै धारा रोएको प्रसङ्ग अभिव्यक्त भएको छ । कुनै बाध्यताले नायक र नायिकाको विछोड भएको छ । उनै नायकको सम्झनाले गर्दा नायिका विह्वल बनेकी छन् । अचेल आफ्नो पियारा कहाँ छ भन्ने पनि थाहा नपाउँदा नायिकाको मनमा विरह चलेको छ । त्यही विरहले गर्दा उनी दशधारा रुँदै उनैको सम्झना गरिरहेको अभिव्यक्ति यस गीतमा रहेको छ । नायकलाई सम्झेर नायिका रोइरहेको प्रसङ्ग भएकोले यसमा नायक आलम्बन विभाव हो । नायिका नायकलाई सम्झेर रोइरहेको अवस्थाको वर्णन गरिएकोले यहाँ एकान्त स्थलको अनुमान गर्न सकिन्छ । एकान्त स्थल यसको उद्दीपन विभाव हो । नायिका यहाँ दशधारा रोइरहेको अवस्थाको चित्रण भएकोले आँसु झार्नु, विकल हुनु उसका अनुभावको रूपमा प्रस्तुत भएको छन्् । त्यसैगरी नायकको स्मृतिले नायिका रोइरहेकीले स्मृति यसको व्यभिचारी भाव हो । त्यसैले यस गीतमा नायक आलम्बन विभाव, एकान्त स्थल उद्दीपन विभाव, आँसु भार्नु र विकल हुनु अनुभाव र स्मृति व्यभिचारी भावको माध्यमबाट दर्शक/स्रोताको मनभित्र रहेको प्रेम स्थायी भाव जागृत भई विप्रलम्भ श्रृङ्गार रसको परिपाक भएको छ ।

गल्लैलाउरे गीतहरू ठाउँ र परिवेशअनुसार फरक फरक संरचनाका हुन्छन् । यस्ता गीतमा यति सहजता छ कि आफूलाई जसरी सजिलो हुन्छ त्यसरी नै गाउन सक्छन् । यिनीहरूको संरचना दुई पंक्तिको रहेको हुन्छ । यी गीतहरूलाई एकोहोरी र दोहोरी दुवै रूपमा गाउन सकिन्छ । गल्लैलाउरेको एउटै संरचना ठोकुवा गरेर भन्न पनि सकिँदैन । गल्लैलाउरेका पंक्तिको अक्षर संरचना पनि एकनास पाइँदैन । यो नियमको जटील साङ्ले जालोमा बाँधिन सक्दैन । यसो भन्दैमा गल्लैलाउरेको आफ्नो संरचना नै छैन भन्ने होइन । गल्लैलाउरे मूलतः भाका प्रधान हुने भएकोले भाका मिल्यो भने अनुप्राश पनि यस्ता गीतमा अत्यावश्यक मानिँदैन । त्यसैगरी अक्षरको एकरूपता यसमा बाध्य छैन तर पनि अधिकांश गल्लैलाउरे गीतहरूको आधारमा हेर्दा यसमा यस्तो संरचना भेट्न सकिन्छ :
जस्तै : आउँ दै र नु हो ला (६)
लाउँ दै रहुँ ला पि र ति (७)

यसरी हेर्दा गल्लैलाउरे गीतमा पहिलो पंक्तिमा छ अक्षर र दोस्रोमा सात अक्षर संरचना रहेको भेटिन्छ । कहिलेकाहिँ लय मिलाउनको लागि अक्षर संरचनामा घटीबढी पनि हुन सक्दछ । गीत गाउँदा प्रत्येक अक्षरलाई ढिलो लयमा एक–एक गरी उच्चारण गरिन्छ । त्यसैले गल्लैलाउरे कुनै बाध्यात्मक शास्त्रीय संरचनाले जकडिएको गीत नभई मानव हृदयको स्व—स्फूर्त अभिव्यक्ति हो । गाउँदै जाँदा मानिसलाई जसरी सहज हुन्छ त्यसरी नै यसलाई गाउने गरिन्छ । त्यसैगरी गल्लैलाउरेको लयमा पनि एकरूपता छैन । ठाउँ—ठाउँमा फरक– फरक तिरकाले फरक–फरक लयमा गाइन्छ ।

४. निष्कर्ष
”गल्लैलाउरे लोकगीतमा विप्रलम्भ श्रृङ्गार रसको अवस्था” शीर्षकको यस लेखमा विषय प्रवेश, गल्लैलाउरे गीतको नामकरण र यस गीतको ऐतिहासिक सन्दर्भ शीर्षकमा खेली गीतलाई चिनाउने काम गरिएको छ । त्यसपछि रसहरूको राजा भनेर मानिएको श्रृङ्गार रसअन्तर्गतको विप्रलम्भ श्रृङ्गार रसको परिचय प्रस्तुत गरी विप्रलम्भ श्रृङ्गार रसयुक्त गल्लैलाउरे गीतहरूका उदाहरण सहित विश्लेषण गर्ने काम गरिएको छ । अन्त्यमा परशिष्ट खण्डमा क्षेत्रकार्य गरी सङ्कलन गरिएका विप्रलम्भ श्रृङ्गार रसयुक्त गल्लैलाउरे गीतहरू प्रस्तुत गरिएको छ ।

नेपाली समाजमा लोकप्रिय गीतको रूपमा गाउँदै आइएको गल्लैलाउरे गीतमा प्रयुक्त विप्रलम्भ श्रृङ्गार रसलाई चिनाउने प्रयास गरिएको यस लेखबाट निकालिएको निष्कर्षलाई यसप्रकार बुँदागत रूपमा प्रस्तुत गर्न सकिन्छ :
 गल्लैलाउरे गीत नेपाली लोकगीतको बाह्रमासे गीतअन्तर्गत पर्ने एउटा लोकप्रिय गीत हो ।
 यस गीतलाई गल्लालाउरे, गल्लैलाउरे, गल्लैलागुरे, गल्लालागुरे, गल्लैलाउरे, लोइरो गीत आदि विविध नामले सम्बोधन गरिएको पाइन्छ ।
 गल्लैलाउरे गीतका प्रमुख गायक–गायिकाहरू ग्रामीण अपठित वर्ग हुन् ।
 यस गीतमा अन्जानमै भएपनि छन्द, रस, अलङ्कारहरू प्रयोग भएका हुन्छन्् ।
 माया, प्रेम, विरह आदि भावहरू यस गीतमा स्वाभाविक रूपमै आएका हुन्छन्् ।
 श्रृङ्गार रसअन्तर्गतका सम्भोग श्रृङ्गार र विप्रलम्भ श्रृङ्गार दुवै खाले रसको प्रचूर प्रयोग गल्लैलाउरे गीतमा पाउन सकिन्छ । त्यसमध्ये पनि विप्रलम्भ श्रृङ्गारको प्रयोग यस गीतमा अत्यधिक पाइन्छ ।
 गल्लैलाउरे लोकगीत लोपोन्मुख अवस्थामा रहेको छ । यो गीत अहिलेसम्म कसैले रेकर्ड गरेको पाइएको छैन । यस गीतको बारेमा व्यापक अनुसन्धानको आवश्यकता छ ।

सन्दर्भ सूची
उपाध्याय, केशवप्रसाद (२०६१, पूर्वीय साहित्य सिद्धान्त, चौथो संस्क., ललितपुर : साझा प्रकाशन ।

न्यौपाने, कुसुमाकर (२०६६), पश्चिमाञ्चल क्षेत्रमा प्रचलित नेपाली लोकगीतहरूको अध्ययन
(विद्यावारिधि शोधप्रबन्ध), काठमाडौँ : त्रि.वि.,मानविकी तथा सामाजिक शास्त्र सङ्काय ।

प्रवास, तुलसी (२०७०), खेलीे गीतमा शृङ्गारिकता, नेपाल प्रज्ञा प्रतिष्ठान र रापति साहित्य
प्रतिष्ठानद्वारा संयुक्त रूपमा आयोजित, नेपाली लोकसाहित्य चौथो राष्ट्रिय सँगोष्ठीमा प्रस्तुत
गोष्ठीपत्र ।

पाण्डेय, मैनेजर (सन् २००६), साहित्य के समाजशास्त्र की भूमिका, ते.सं. पञ्चकूला : हरियाणा
साहित्य अकादमी ।

पोखरेल, बालकृष्ण र अन्य सम्पा. (२०६७), नेपाली बृहत् शब्दकोश, काठमाडौँ : नेपाल
प्रज्ञाप्रतिष्ठान ।

बन्धु, चुडामणि (२०५८), नेपाली लोकसाहित्य, काठमाडौँ : एकता बुक्स ।

भरत, (२०५४), नाट्याशास्त्रम्, वाराणसी : कृष्ण अकादमी ।

विश्वनाथ, (सन् १९७६), साहित्य दर्पण, चौथो संस्क., बनारस : चौखम्बा विद्याभवन ।

क्षेत्री, उदय (२०६४), समाजशास्त्रीय दृष्टिमा इन्द्रबहादुर राईका आख्यानको अध्ययन, विद्यावारिधि
शोधप्रबन्ध, त्रिभुवन विश्वविद्यालय : नेपाली केन्द्रीय विभाग ।

परिशिष्ट १
विप्रलम्भ श्रृङ्गार रसयुक्त गल्लैलाउरे गीतको सङ्कलन :

ए दाइ….मरेँ असेटैले
मरिदैन भन्थ्यौ नि ।।

असेटैले नि भन्दा
लसेटैले मरियो ।।

ए दाइ.. भेटै नहुनलाई
लाग्यो पापी बरिखा ।।

सम्झी…. रुन्छु दशै धारा
अचेल काँ छौ पियारा ।।

नसम्झ न माया,
मै सम्झुंला मै रुम्ला ।।

मलाई ….सम्झी नरोऊ मैना
रुनि काम ठीक हैन ।।

ए बाउ…. रुन्न भने पनि
बरबर आँसु आइरनि ।।

अचाल् काँ छौ मैना
किन भेट हुँदैन ।।

रुन्छु एकान्तैमा
सैँ देखे मन् बुझाउँछु ।।

डाइको गलबन्डीमा
झुन्निएर मोरुँला ।।

हात काटेर रउतै
मन फाटेर बिरउतै ।।

ए बाउ….
वनको न्याउली
पनि सोझो छैन मसित ।।

मर्छु अकालैमा हो…
सउतिन काल पर्खेर ।।

के मया लाउनि हो
भोलि घर जानि हो ।।

जाँ टेक्यो उहीँ पहिरो
रूखो मेरो पैताली ।।

उँधै सललल
फूल बगाायो नदीले ।

गाउँछु विरहेले
गाई बैँसले नभने ।।

उराठिलो मन
बतासिलो चौपारी ।।

कति गरुँ मैले
न्याउलीले झैँ विरहे ।।

मया कलेजीमा
कैल्यै पनि मरेन ।।

सुन्छु धुइरो धुइरो
दाइ बोलेको लेकैमा ।।

लाउँछ मया अति
समझेर रुम कति ।।

न सम्झने भए
मै सम्झँुला मै रुम्ला ।।

(मलाई सम्झी) नरोउ मेरो मैना
रुनी काम ठिक हैन ।।
हे बाउ……
रुन्न भने पनि
बर्बर आँसु झर्छ नि ।।

सम्झना आइरनि हो…..
कति मन रोइ रनि ।।

तस्विरः पर्वत त्रिवेणी गा.वि.स.अर्थुन गाउँका दत्तु काफ्ले गल्लैलाउरे गीतमा झुम्दै ।