काठमाडौं आसपास हावाहुरीसहित वर्षाको सम्भावना

मुख्य समाचार विषेश समाचार समाज

काठमाडौं, ३१ जेठ । काठमान्डौं आसपासका क्षेत्रहरुमा मेघगर्जन र हावाहुरीसहित वर्षा हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ । शुक्रबार जारी गरेको सूचनामा महाशाखाले काठमाडौं आसपासका क्षेत्रमा विकसित हुँदै गरेको प्रणालीका कारण वर्षासहित हावाहुरी आउने अनुमान गरिएको हो ।

बंगालको खाडीबाट आएको जलवाष्पका कारण यस्तो हुन सक्ने मौसमविदहरुले जनाएका छन् । महाशाखाले शुक्रबार देशको मध्य तथा पश्चिमी पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहने र पूर्वी भूभागमा सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली हुने जनाएको छ ।

यस्तै, पूर्वी भूभागका केही स्थानहरुमा र मध्य र पश्चिमी भूभागका केही स्थानमा मेघगर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको जनाइएको छ । त्यसैगरी शनिबार र आइतबार पनि मुलुकका विभिन्न भागमा बदली रहने महाशाखाले जनाएको छ ।

तर, भारतको गुजरातमा आएको ‘वायु’ नामको आँधी भने सोचिएभन्दा कमजोर आएकाले त्यसको प्रभाव नेपालमा कम पर्ने सम्भावना रहेको बताइएको छ ।