सार्वजनिक सवारी साधनको भाडा बढ्यो

आजको बजार मुख्य समाचार विषेश समाचार

काठमाडौँ, ३० जेठ, २०७६ । सरकारले सार्वजनिक यातायातका साधनको भाडा वृद्धि गरेको छ । बिहीबार यातायात व्यवसायी, उपभोक्ताकर्मी र सुरक्षा निकायका प्रमुखलगायतसँग छलफल गरी भाडादर समायोजन गरिएको यातायात व्यवस्था विभागले जनाएको हो ।

विभागका महानिर्देशक कुमारप्रसाद दाहालका अनुसार सबैखाले सवारी साधनमा लागू हुने गरी १२ प्रतिशतले शुल्क वृद्धि गरिएको छ । बढेको भाडादर असार १ बाट लागू हुनेछ।

योसँगै अब सार्वजनिक सवारी साधन चढ्ने यात्रुले ४ किलोमिटरसम्मको १६ रुपैयाँ भाडा तिर्नु पर्ने छ। यसअघि १४ रुपैयाँ तिर्नु पर्थ्यो । २०६९ मा पहिलो पटक विभागले वैज्ञानिक भाडादर भन्दै नयाँ नियम लागू गरेको थियो।

बिहीबारको छलफलमा सरकारले भाडा बढाउने प्रस्ताव गरे पनि उपभोक्ता अधिकारकर्मीहरुले विरोध जनाउँदै बाहिरिएका थिए । भाडा वृद्धि नगर्न गरेको आग्रहलाई विभागले अस्विकार गरेपछि बैठकबाट बाहिरिएको उपोक्ता अधिकारकर्मी तथा कन्जुमर आई नेपालका महासचिव रञ्जनराज खनालले बताए । विभागले उपभोक्ताकर्मीको पनि सहमतिमा भाडा वृद्धि गरिएको भनि उल्लेख गरेकोमा खनालले आपत्ति जनाए । उनले भने, ‘हामीले भाडा वृद्धि गर्नु हुँदैन, आवश्यक अध्ययन र अनुगमन गरेर मात्रै वृद्धिको योजना बनाउनु पर्छ भनेर बैठक छोडेर निस्किएका हौँ, यो भाडा वृद्धिमा हाम्रो कुनै सहमति छैन ।’ एकै पटक १२ प्रतिशतले भाडा वृद्धि गर्नु जायज नभएको उनको भनाई छ । सार्वजनिक सवारी साधनको भाडा वृद्धिले मूल्य वृद्धि र उपभोक्तामा प्रत्यक्ष मार पर्ने भएकोले तत्काल फिर्ता लिन पनि उनले आग्रह गरे ।