मैले नपढाएको विद्यार्थी — डिल्लीराज अर्याल

मुख्य समाचार विचार

मान्छेका दिमागमा कस्ता कस्ता कुरा खेलिरहन्छन् र तिनको अकस्मात् कसरी प्रस्फुटन हुन्छ ? भन्न सकिन्न । यदाकदा त्यसअघि सोच्दै नसोचेको जस्तो लाग्ने कुरा पनि अकस्मात् मुखबाट निस्कन्छ। ती मध्येका कतिपय कुरा घतलाग्दा र कतिपय अलपत्रका पनि हुन सक्छन्। त्यसैले होला, कहिलेकाहीँ आफ्नै मुखबाट निस्केका केही त्यस्ता कुरा पछि आफैंले पनि पत्याउन मुस्किल पर्छ। अरूका मुखबाट निस्केकालाई नपत्याउनु त स्वाभाविकै हुने भयो।

मान्छेको स्वभाव न हो बोल्दै जाँदा जस्तो पनि अर्थात् साधारण वा सोच्दै नसोचेको जस्तो पनि बोलिँदो रहेछ। जीवन न हो जस्तो पनि आइलाग्दो रहेछ, सोच्दै नसोचेको कुरा पनि बोल्नु र भोग्नुपर्दो रहेछ। कहिले करले र कहिले आफैं स्वत:स्फूर्त रूपमा योजना विनै पनि अचम्मका कुरा बोलिँदो रहेछ जसको प्रभाव कैयौँ पछिसम्म पनि रहिरहँदो रहेछ।

कहिलेकाहीँ आफूले बोलिसकेपछि आफ्नै मनमा साँच्चै, मैले के सोचेर त्यस्तो भने हुँला भन्ने पनि लागिरहने रहेछ। कहिलेकाहीँ मैले नसोचेरै पनि यति राम्रो कुरा कसरी भने हुँला? भन्ने पनि हुँदो रहेछ। कहिले बोलिसकेपछि किन बोलेँ हुँला ? भनेर थकथकी लाग्ने गरी पनि बोलिँदो रहेछ। मलाई यस्तो पटक-पटक भएको छ । मलाई जस्तै अरू धेरैलाई, धेरैपटक यस्तो भएको हुनसक्छ, हुन्छ।

त्यस्ता अचम्मका कुरा जीवनमा धेरै पटक भएका, बोलिएका हुन्छन् जसको लेखाजोखा त्यतिबेला बल्ल हुन्छ जतिबेला त्यसको परिणामको अनुभव भएको, भइरहेको हुन्छ। कुनै बेला त्यो बोलीमा चासो राखिएको वा नराखिएको पनि हुन सक्छ। ‘बोली’का लागि पत्रकार ‘राजेश अर्याल’ ले रचना माग गर्दै गर्दा आज त्यस्तै एउटा घटना र पुरानो कुनै बेलाको (०६१।६२ तिरको हो कि) बोलीको सम्झना भयो ।

मैले पेशाबाट बिदा लिने मानसिकता बनाइसकेको भए पनि लिइसकेको थिइन । बसाइ तानसेन -४ सिलखानकै थियो । बिदाको दिन थियो । बाहिर घाम नलागे जस्तो भए पनि त्यत्ति जाडो थिएन । म एकजना लेखक मित्रसँग बसेर गफ गर्दै थिएँ । उनी मेरा मित्र थिए, त्यसबाहेक पनि आफन्त र एउटै पेशामा संलग्न सहकर्मीसमेत। बेलाबेलामा म कहाँ आउँथे, बस्थे । धेरैबेर कुराकानी पनि हुन्थ्यो ।

त्यसदिन पनि उनीसँग लामै कुराकानी चल्यो। उनी आफ्ना कुनै दुईवटा पुस्तक लिएर मलाई भाषा सम्पादनको जिम्मा दिन भनेर आएका रहेछन्। फुर्सदिलो जस्तो भएकाले होला लामै गफ चल्यो र त्यही गफकै क्रममा थाहा भयो त्यो पुस्तकमा मलाई भूमिका वा मन्तव्य लेखाउने पनि उनको चाहना रहेछ।

मेरा ती मित्र मेरै समकालीन थिए। दुबै एउटै विषयका, समान स्तरका शिक्षक थियौँ। हामी दुबै लेखनमा रुचि राख्थ्यौँ। म पनि लेखनमै संलग्न भएकाले आफ्नो रचनाका बारेमा सल्लाह लिने, सहयोग लिनेहरू अरू अरू पनि मकहाँ आइरहन्थे। यसरी आउने, सहयोग लिने मध्येका उनी पनि थिए। उनको यो कुरा यहाँ नाम विना नै उल्लेख किन गरिरहेँछु भने कतिपय व्यक्तिका नजरमा उनी मभन्दा अगाडि थिए। मभन्दा सिपालु, योग्य थिए । बाह्य आवरणमा हामी अलि फरक अर्थात् मूल्याङ्कनमा भए जस्तै थियौँ पनि । रमाइलो कुरो – उनी आफ्ना कुनै पनि कृति मलाई हेर्न दिन्थे र सच्याइदिन भन्थे । हामी दुईको यो अवस्थाको जानकारी केही व्यक्तिलाई भने थियो। हामी आपसमा जे भए पनि ती सबै कुरा मान्छेका मूल्याङ्कनका अलग अलग आधार र स्वरूप थिए । त्यो, उनका निम्ति पनि अचम्मकै हुन्थ्यो, तर हामी दुबै जना यसबारेमा बोल्दैनथ्यौँ। हो, हाँसो भने हामी दुबैलाई उठ्थ्यो र कहिलेकाहिँ सँगै बसेर हाँस्थ्यौँ ।

त्यो दिन पनि उनीसँग पुस्तकबारेमा धेरै कुराकानी भए। त्यो कुरा सिध्याएपछि पनि धेरै बेर हाम्रा अन्य विषयका गफ भए। चिया नास्तासँगै नोकरीका कुरा चले। सिकाइका कुरा, अनुभवका कुरा, घरायसी कुरा। हामीले अध्यापन गर्ने विषय र विद्यालय नजिकको सामाजिक अवस्थाबारे पनि।

त्यो दिन हाम्रो घरको छतमा लामै गफगाफ चल्यो। गफकै सिलसिलामा उनले मलाई सोधे- ‘आफ्नो शिक्षणकालभरिको (पूरा अवधिको) कुनै एउटा मात्र छात्र वा छात्राको नाम लिनुपर्यो भने तपाईं कसको नाम लिनुहुन्छ? त्यस्तो उल्लेख्य कुनै नाम छ ?’ उनको प्रश्न सुनेर म केहीबेर अलमलाएँ ।

कुनै चलाख पत्रकारले सोध्ने जस्तो त्यो प्रश्न मेरा निम्ति अलि अनौठो जस्तो पनि थियो । एकाएक आएको यस्तो प्रश्नको उत्तर दिन सहज पनि थिएन। सोचेरै पनि दिन हम्मे पर्ने प्रश्नको उत्तर नसोची दिन सकिने झन् कुरै थिएन तैपनि त्यति बेला मेरो मुखमा के आयो कुन्नि? मैले भनें – ‘जसलाई मैले प्रत्यक्ष रूपमा कहिल्यै पढाइन – त्यो’।

उत्तर सुनेर एकछिन उनी पनि अलमलाए । के-के सोचे र धेरै बेरमा भने – द्रोणाचार्यकै चाला ?
अलमल त मलाई पनि थियो । मैले पनि एक्कासी दिएको उत्तर थियो त्यो । भावना जे भए पनि सोच विचारले दिएको उत्तर थिएन । अरू बेला भए पुष्टि गर्न सोच्नै पर्थ्यो तर त्यतिबेला परेन । मैले दन्त्यकथामा पढेको बिसेमिरा कथाको यो श्लोक सम्झेँ,-
“गुरुदेव प्रसादेन जिह्वाग्रे मे सरस्वती
जानामि तव वृत्तान्तं श्रीमती तिलकं यथा”।

मैले अरू कुरा भन्न भ्याएकै थिइन । उनले फेरि सोधे- आफैंले पढाएका हजारौँ विद्यार्थी, तीमध्ये पनि कैयौँ अति जेहन्दार, अनुशासित पनि थिए होलान्, कैयौँ त यतिबेला ठूलाठूला पदमा पुगेका पनि होलान्, महत्वपूर्ण काममा सक्रिय पनि होलान् । तिनको नाम नलिएर किन कहिल्यै नपढाएको भन्नहुन्छ ?

मैले भनेँ- मैले अर्थात् शिक्षकले विद्यार्थीको नाम लिनु त्यति महत्वको कुरो होइन, जति ‘फलानो शिक्षकले मलाई पढाएको’ वा ‘फलानोसँग मैले पढेको’ भनेर विद्यार्थीले लिने नाम महत्वको हुन्छ । म सोच्छु- मेरो कुनै प्रभाव छ, मप्रति गौरवबोध छ भने विद्यार्थीले मेरो नाम लिन्छ। छैन भने मैले ‘मेरो विद्यार्थी’ भनेर नाम लिनुको खासै अर्थ हुन्न। मलाई त्यस्तो लाग्छ। त्यसैले मैले कसैको नाम लिइन र लिन चाहिन । मेरो अर्थात् शिक्षकको महत्व, मैले अर्थात् शिक्षकले लिने नामले होइन, विद्यार्थीले लिने नामले हुने हो, प्रष्टिने हो । विद्यार्थीहरूले नाम नलिने शिक्षकको अर्थ जागिर र तलब बाहेक के हुन्छ? कहाँ हुन्छ ? त्यसैले मैले तिनको नाम लिइन। हाम्रो अथवा मेरो नाम विद्यार्थीले लिन्छन् भने म शिक्षक हुनुको अर्थ हुन्छ नत्र फलाना मेरो विद्यार्थी भन्नुको कुनै अर्थ हुन्छ?

उनी केहीबेर अलमलाए र मलाई हेरिरहे । धेरै बेरपछि फेरि सोधे- ‘अनि प्रत्यक्ष नपढाएको विद्यार्थीको नाम किन त?’

मैले भने- ‘सिक्नेले टाढै बसेर पनि सिकिरहेको हुन्छ, बुझिरहेको हुन्छ र त्यसको ठूलो अर्थ हुन्छ। उसले सिकाउनेको अर्थात् जसबाट सिकेको महसुस गर्छ उसको नाम लिइरहेको, उल्लेख गरिरहेको हुन्छ भने चाहे उसले प्रत्यक्ष देखेको मात्र वा नदेखेकै किन नहोस्। त्यस्तो एकलव्य जस्तो विद्यार्थीको नाम किन नलिऊँ ? मैले यति मात्र भनेँ।

फेरि पनि उनी छक्क परेर मलाई हेरिरहे। त्यसपछि त्यो विषयमा कुनै प्रश्नै गरेनन् तर मैले उनको मनमा खलबली र जिज्ञासा भने रहिरहेको पाएँ ।

केहीबेर पछि मैले आफैंले भनेँ- तपाईंले अघि द्रोणको नाम लिनुभयो। म द्रोणको कतिपय क्रियाकलाप, व्यवहारसँग सहमत छैन, हुन्न। यसबारेमा मेरा दृष्टिकोण लेखका रूपमा आइसकेका पनि छन् तर मैले भन्न खोजेको कुरो अलि फरक हो। मैले औपचारिक रूपमा पढाएका र अनौपचारिक रुपमा पढाएका अर्थात् मेरा क्रियाकलापबाट, लेख रचनाबाट, कुराकानीबाट जसले केही सिक्यो र त्यसको जस कुनै न कुनै रूपमा मलाई दिने गर्यो त, मलाई सम्झियो उसलाई मैले त्यस्तो विद्यार्थीको रूपमा लिँदा, उसको नाम लिंदा के फरक पर्छ? द्रोणले त एकलब्यसँग गुरुदक्षिणा पनि लिए । एकलव्यले उनीसित प्रत्यक्ष नपढेकै भए पनि द्रोणलाई आफ्नो गुरु स्वीकार्यो। म त उसले मसित सिकेको ठान्यो, भन्यो वा सिकाउनेमा मेरो नाम दियो भने मैले सबैभन्दा पहिला उसकै नाम किन नलिने? भन्दैछु । उसकै नाम लिँदैछु, उसलाई जस दिँदैछु। मसँग औपचारिक शिक्षा लिनेकै नाम पनि मेरो शिक्षक भनेर उसले लिन्छ, लिन्न, नजानी नबुझी, मैले किन लिने? उसले मान्छ भने उसले लिन्छ। मान्दैन भने मैले नाम लिएर उसलाई मतिर किन तान्ने? भन्ने सोच्छु। बस् कुरा यही हो।

मेरा कुरा जे जस्ता भए पनि नसोचिकनै बोलिएका थिए तर तिनको अर्थ उनले राम्रै लगाए। मैले आफैंले पनि पछि फेरि त्यसबारेमा सोचेँ । मलाई त्यतिबेलाको उत्तर, भनाइ अहिले पनि ठिकै दिएँछु जस्तो लागिरहेछ। अहिले त मैले त्यसबारेमा सोचेको पनि छु जुन विद्यार्थीले ‘मैले फलाना शिक्षकबाट शिक्षा पाएको हुँ, पढेको हुँ’ भन्दैन, भन्न हिच्किचाउँछ त्यस्तो विद्यार्थी जति माथिल्लो पदमा पुगे पनि मैले अथवा कुनै शिक्षकले उसको नाम लिएर मेरो विद्यार्थी भनेर गर्व गर्नुको कुनै अर्थ छ र ? त्यो स्वीकार त विद्यार्थीले गर्ने हो अनि बल्ल शिक्षकको महत्ता देखिन्छ। शिक्षकले भनेर त खासै अर्थ राख्दैन । त्यसो भन्दा त जसले औपचारिक शिक्षा लिएन तर अनौपचारिक शिक्षा लिएर पनि सम्झन्छ, शिक्षाको, शिक्षकको महत्त्व बुझ्छ त्यो विद्यार्थी आफ्नो हुन्छ, आफ्नो भन्न सकिने हुन्छ । जसले आफैंले स्वीकार गर्दैन, प्रकट गर्दैन त्यहाँ उसलाई मेरो भनेर तान्नुको अर्थ त ‘मैले भने माइती माइती माइतीले भन्ने किन आइथी’ भने जस्तै भएन र ?