गुठीसम्बन्धी विधेयक तत्काल फिर्ता नगरे आन्दोलन

मुख्य समाचार राजनीति विषेश समाचार

काठमाडौं, ३० जेठ, २०७६ । राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) का अध्यक्षद्वय पशुपति शमशेर जबरा र डा. प्रकाशचन्द्र लोहनीले सरकारले निर्णयार्थ प्रस्तुत गरेको गुठीसम्बन्धी विधेयक तत्काल फिर्ता लिनुपर्ने माग गरेका छन् । विधेयक फिर्ता नगरे आन्दोलन गर्ने पनि उनीहरुको चेतावनी छ ।

बिहीबार एक साक्षातकारमा बोल्दै अध्यक्षद्वय राणा र लोहनीले संसदमा प्रस्तुत उक्त विधेयकले नेपालको परम्परागत सहकार्य र समन्वयमा अडेको धार्मिक र सांस्कृतिक संरचना भत्काउने दाबी गरेका छन् ।

अध्यक्षद्वयले उक्त विधेयकले नेपालीहरुको धार्मिक निष्ठा र विश्वासको जगलाई खलबलाउने, सनातन धर्ममाथि घात, धार्मिक र सांस्कृतिक क्रियाकलापको राजनीतिकरण गर्ने, परम्परागत गुठीको सामूहिकताको व्यवस्थालाई सखाप पार्ने र सरकारी सहयोगबाट गुठीको सम्पत्ति भूमाफियाको स्वार्थमा परिचालन गर्ने सम्भावनालाई अगाडि बढाउने देखा परेको आरोप लगाए ।

अध्यक्ष जबराले भने, ‘जुन रुपमा यो विधेयक पेश भएको छ, त्यो पारित हुन गए नेपाली जनताको सांस्कृतिक विनास भई देशप्रति अपराध गरेको ठहरिनेछ ।’ उनले नेपालीको गुठीको संरचनाले नेपाली संस्कृति, कला र आस्थाको अभिव्यक्तिको रुपमा छरिएर रहेका काठमाडौंमा उपत्यका र देशभर छरिएर रहेका धार्मिक र सांस्कृतिक संस्थाहरुको व्यवस्थापनमा विकेन्द्रित संरचना कायम गर्दै आएको सुनाए ।

अध्यक्ष जबराका अनुसार यथार्थमा परम्परागत गुठी संरचनामा निहित र सामूहिकताको संस्कार मासेर गुठीको सम्पत्तिको नाङ्गो तरिकाबाट व्यवसायीकरण गर्ने र गुठीमा हजुरीया पुँजीवादलाई प्रोत्साहन गर्ने सरकारी लक्ष्य स्पष्ट छ ।

अध्यक्ष जबराले आफूहरु हिन्दूराष्ट्र पूर्नस्थापनाको लागि पनि सडकमा उत्रिने जनाए । उनले भने, ‘हिन्दूराष्ट्र स्थापनाको लागि यदि कांग्रेस पनि सडकमा आउँछ भने उसको नेतृत्वमा आन्दोलनमा जान हामी तयार छौं ।’