विश्वकप क्रिकेटमा भारत र न्युजिल्याण्ड भिड्दै, अपराजित यात्रा टुंगिने

खेलकुद मुख्य समाचार

एजेन्सी, ३० जेठ । इंग्ल्याण्डमा जारी आईसीसी विश्वकप क्रिकेट अन्तर्गत आज (बिहिबार) भारत र न्युजिल्याण्ड एक आपसमा प्रतिस्पर्धा गर्दैछन् । जारी विश्वकमा अहिलेसम्म अपराजित दुई टिम ट्रेन्ट ब्रिज मैदानमा आपसमा भिड्न लागेका हुन् ।

आजको खेलमा वर्षा बाधक नभए दुईमध्ये एक टोलीको अपराजित यात्रा टुंगिने छ । यद्यपी वर्षाकै कारण हालसम्म विश्वकपमा तीन खेल रद्व भईसकेको छ । भारतले दुई खेल खेलेकामा दुई खेलमै जित हात पारेको छ भने न्युजिल्याण्डले आफ्ना तीनै खेलमा जित निकालेको छ ।

विश्वकपअघिको अभ्यास खेलमा न्युजिल्याण्डले भारतलाई पराजित गरेको थियो । चोटका कारण भारतीय टिममा मुख्य ब्याट्सम्यान शिखर धवन रहने छैनन् । उनले अष्ट्रेलियाविरुद्वको खेलमा चोट बोकेका थिए । फर्ममा रहेका धवनको बहिर्गमनले भारतलाई धक्का लाग्ने सम्भावना रहेको छ ।

धवनको स्थानमा न्युजिल्याण्डविरुद्व लोकेश राहुल र रोहित शर्माले ओपनिङ जोडीको रुपमा सुरुवात गर्नेछन् । राहुल पछिल्ला दुई खेलमा चार नम्बरबाट खेलेका थिए । अब कप्तान विराट कोहली चार नम्बरमा खेल्नेछन् ।

धवनको स्थानमा विजय शंकर र दिनेश कार्तिकमध्ये एकलाई लिन सक्ने विकल्प भारतलाई छ ।