‘आरोहीको मृत्यु ट्राफिक जाम र अधिक अनुमतिले भएको होइन’

पर्यटन मुख्य समाचार

काठमाडौं, ३० जेठ । नेपाल सरकारले सगरमाथा आरोहणको क्रममा आठ जनाको मृत्यु हुनुको कारण ट्राफिक जाम र अधिक अनुमति नभएको बताएको छ । बेलायत भ्रमणका क्रममा बीबीसीसँग अन्तरर्वार्ता दिने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले अत्याधिक अनुमति दिएको कारणले धेरै जनाको मृत्यु नभएको बताएका हुन् ।

बीबीसीले सोधेको प्रश्नको जवाफ दिँदै ओलीले ट्राफिक जामकै कारण आठ जनाको मृत्यु भएको तथ्य सहि नभएको बताए । उनले अभिव्यक्ति दिएपछि संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहत रहेको पर्यटन विभागले बुधबार विज्ञप्ति जारी गर्दै सोही धारणा सार्वजनिक गरेको हो ।

विज्ञप्तिमा भनिएको छ, ‘सञ्चार माध्यममा उठिरहेको सगरमाथामा ट्राफिक जाम र अधिक अनुमति पत्रका कारण आरोहीको मृत्यु भएको तथा हराइरहेको भन्ने विषयप्रति नेपाल सरकारको ध्यानाकर्षण भएको छ ।’ यसअघि जेठ १२ गते पनि विभागले आरोहीको मृत्यु लगायत विषयमा प्रस्ट्याउन विज्ञप्ति जारी गरेको थियो ।

विभागले आरोहीको मृत्युको कारण हाई अल्टिच्युट, प्रतिकूल मौसम र आरोहीको शारीरिक कमजोरी भएको उल्लेख गरेको छ । यस सिजनमा सगरमाथा आरोहणमा ३ सय ८१ जनाले दस्तुर तिरेर अनुमति लिएका थिए ।

तीमध्ये २ सय ८१ जना मात्रै सफल भए । ८ जनाको मृत्यु भएको थियो भने एक जना हराइरहेका छन् । यस सिजनमा विभागले ४४ वटा आरोहण दलमा रहेका आरोहीलाई सघाउन ६ सय ४२ जना सरदार, गाइड र शेर्पाले इजाजत पाएका थिए ।

आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।