विप्लवका कार्यकर्ताद्वारा वडा कार्यालयमा आगजनी

प्रदेश मुख्य समाचार

जाजरकोट, २९ जेठ, २०७६ । सरकारद्वारा प्रतिवन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका स्थानीय कार्यकर्ताहरुले आगो लगाएर यहाँको एक नगरपालिकाको वडा कार्यालयका सबै सामग्रीहरु नष्ट गरिदिएका छन् । जिल्लाको नलगाड नगरपालिका वडा नम्बर–१० रावतगाउँमा रहेको वडा कार्यालयमा गए राती उनीहरुले आगो लगाएर कार्यालयका कागजात, फर्निचर तथा प्राविधिक सामग्रीहरु लगायत सबै नष्ट गरिदिएका हुन् ।

वडाध्यक्ष भद्रबहादुर ध्यारले अज्ञात समूहले वडा कार्यालयमा आगजनी गरेर सामग्री जलाएको जानकारी दिए । रातको समयमा आठ नौ जनाको समूहमा आएका व्यक्तिहरुले कार्यालयको ढोका फोरेर सबै सामग्रीहरु बाहिर आँगनमा ल्याएर आगो लगाइदिएको वडाध्यक्ष ध्यारले बताए । कार्यालयमा रहेका सहयोगीलाई नियन्त्रणमा लिएर उनीहरुले कार्यालयभित्र रहेका कागजातहरु, क्यामेरा, कम्प्युटर, सोफा सेट, टेवल, मोवाइल, दराज कुर्सीहरु लगायतका सामग्रीहरु जलाइदिएको उनले बताए । आगो लगाउनेहरु मध्ये एक जनाले सटगन जस्तो हतियार बोकेको पनि वडाध्यक्ष ध्यारले बताए ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डिएसपी श्यामबहादुर खत्रीले वडा कार्यालयमा आगो लगाउनेको पहिचान हुन नसकेको बताए ।