समृध्द नेपाल बनाउन सबैखाले गरिबीको अन्त्य गर्नुपर्छ : मन्त्री अर्याल

कृषि मुख्य समाचार

काठमाडौं, २९ जेठ, २०७६ . भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले समृद्ध नेपाल बनाउन सबैखाले गरिबीको अन्त्य गर्नुपर्ने बताएकि छिन्। अखिल नेपाल किसान महासंघले बुधबार काठमाडौंमा आयोजना गरेको ‘दक्षिण एशिया लैंगिक संवेदनशील मूल्य श्रृंखला’ सम्बन्धी दक्षिण एशियाली क्षेत्रीय परामर्श कार्यशाला गोष्ठीलाई सम्बोधन गर्दै मन्त्री अर्यालले त्यस्तो बताइन्।

गरिबी निवारण बिना समृद्धि हासिल गर्न नसकिने उनको भनाइ थियो। ‘गरिवी निवारण सबै क्षेत्रसँग सम्बन्धित विषय भएको हुनाले सरकार, सहकारी र निजी तथा गैरसरकारी विकास साझेदारहरुसँग समन्वय र एकीकृत प्रयासबाट गरिवी निवारणका चुनौति पार गर्न सकिने कुरामा विश्वस्त छौं’, उनले भनिन्।

विश्व भर नै लैंगिक विभेद र असमानता कायम रहेको भन्दै मन्त्री अर्यालले यो समस्या अझ बढी दुर्गमका बस्तीहरुमा विद्यमान रहेको बताइन्। ग्रामिण क्षेत्रका महिलाहरु अहिले पनि राज्यका सेवा सुविधाबाट बञ्चित रहेको भन्दै महिलाहरुको सशक्तिकरण र लैंगिक समानता नै खाद्य कृषि संगठनको समग्र लक्ष्य गरिवी न्यूनिकरण तथा खाद्य सुरक्षाको मर्म हुने मन्त्री अर्यालले बताइन्।
नेपालको सन्दर्भमा “समृद्ध नेपाल, सुखी नेपाली” मूल लक्ष्य लिएर सरकार अगाडि बढिरहेको भन्दै मन्त्री अर्यालले सबै प्रकारका गरिबीबाट मुक्त नेपाल बनाउने अभियानमा रहेको बताइन्। शिक्षा/स्वास्थ्य/खानेपानी/आवास/सूचना जस्ता व्यक्तिका आधारभूत आवश्यक्ताका वस्तु तथा सेवामा गरिवहरुको सहज पहुंच स्थापित गर्न, पिछडिएका व्यक्ति/परिवार/वर्ग/क्षेत्र र समुदायलाई विकासको मुल प्रवाहमा समाहित गराई विकासको प्रतिफल सबैलाई न्यायोचित रूपमा वितरण गरी मुलुकमा आर्थिक असमानता घटाउने प्रयास थालिएको बताइन्।

भूमिको उत्पादकत्व वृद्धि, उन्नत र आधुनिक कृषि उद्योगको विकास बजारिकरण, खाद्य सम्प्रभुता र ग्रामीण गरिवीको जीवनस्तर उकास्ने कार्यतर्फ सरकार लागिरहेको भन्दै मन्त्री अर्यालले भूमिसुधारको सवाल सामाजिक तथा आर्थिक रुपान्तरणको मुख्य सवाल भएको समेत बताइन्। ‘भूमि सुधार भनेको गरिवलाई जग्गा बाढ्ने कुरा मात्र होइन, बाँझो रहेका हजारौं जमिन कसरी कृषि उत्पादनमा लगाई अधिकतम लाभ लिने भन्ने पनि हो’, मन्त्री अर्यालले भनिन्।

सहकारीमा सीधै जनताको पहुंच स्थापित भएको भन्दै उनले नेपालका सहकारी संस्थाहरुमा आवद्ध सदस्य संख्याको ६० प्रतिशत भन्दा बढी महिलाहरुको सहभागिता रहेको उल्लेख गरिन्। समाजमा व्याप्त गरिवी र भोकमरी अन्त्य गर्न कृषि सहकारी/साना किसान सहकारी एवम् लैंगिक संवेदनीय मूल्य श्रृंखलाको भूमिका कोशेढुङ्गा सावित हुने अर्यालले विश्वास व्यक्त गरिन्।