क्यानेडेली नागरिक पिटर बाल यौन दुराचारमा दोषी ठहर

मुख्य समाचार समाज

काभ्रे, २९ जेठ, २०७६ । काभ्रेपलाञ्चोक जिल्ला अदालतले क्यानेडेली नागरिक पिटर जोन डाग्लिसलाई बाल यौन दुराचारमा दोषी ठहर गरेको छ । प्रमुख जिल्ला न्यायाधीश अर्जुन अधिकारीको इजलासले ६० वर्षीय पिटरलाई दोषी ठहर गरेको हो ।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) को टोलीले २०७४ चैत २४ गते उनलाई मण्डनदेउपुर–१, बालुवापाटीबाट पक्राउ गरेको थियो भने २०७५ वैशाख १९ गते काभ्रेपलाञ्चोक जिल्ला अदालतमा मुद्दा दायर गरिएको थियो ।

‘मुलुकी ऐनको महल १४, जबर्जस्ती करणीको ९ (क) अनुसारको बाल यौन दुराचारमा पिटरलाई दोषी ठहर गरेको छ । प्रहरी अनुसन्धान, प्राप्त सबूद प्रमाण र पीडितहरुको बयानपछि इजलासले दोषी ठहर गरेको हो’, स्रेस्तेदार (अधिकृत) ठाकुरप्रसाद त्रितालले जानकारी दिए ।

पिटरको यौन दुराचारमा परेका दुई बालकहरुलाई सिबिआइ–२९५ र २९६ (परिवर्तित नाम)बाट जाहेरवाला बनाइएको थियो । सिआइबीले २०७४ चैत्र २४ गते शनिबार बिहानै पिटरलाई मण्डनदेउपुर–१, बालुवापाटीबाट पक्राउ गर्नुका साथै उनले बन्धक बनाइ राखेका १२ र १४ वर्षका दुई बालकहरुलाई उद्धारसमेत गरेको थियो । पिटर हाल पुर्पक्षका लागि कारागार कार्यालय धुलिखेलमा रहेका छन् ।

तस्विर: इन्टरनेट