सरकारले ल्याएका विधेयकमा तयारी पुगेन : अध्यक्ष दाहाल

मुख्य समाचार राजनीति

चितवन, २९ जेठ, २०७६ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारले ल्याएका विधेयकहरु गृहकार्य गरेर ल्याउनुपथ्र्यो त्यो नभएकाले विधेयक विवादास्पद बनेको बताए छन् । हालै सरकारले ल्याएको मिडिया काउन्सिल विधेयक र गुठी विधेयकको बारेमा पनि बहस र छलफल चलिराखेको उनले बताए । छलफलपछि आवश्यक परिमार्जन गरेर अगाडि बढिने उनको भनाई छ ।

सरकार आलोपालो चलाउने सहमतिलाई भने नयाँ कुरा नभएकाले पहिले भएका समझादारीका साथ अगाडि बढिने अध्यक्ष दाहालले बताए । लोकसेवा आयोगले ल्याएको कर्मचारी भर्ना प्रक्रियाको विज्ञापन विवादका विषयमा संसदीय समितिले र सरकारले काम गरिराखेको उनको बताए ।

चितवनमा निर्माण भइरहेको राष्ट्रिय गौरवको आयोजना अन्तर्राष्ट्रिय रंगशाला निर्माणका लागि सरकारले सहयोग गर्ने बताएका छन् । बुधबार भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै उनले रंगशाला निर्माणको कार्यमा आवश्यक परेको सहयोग सरकारका तर्फबाट उपलब्ध हुने बताए । रंगशाला निर्माण जस्तो धेरै ठूलो काम चितवनमा हुन लागेकोले चितवनको लागि मात्र नभएर राष्ट्र कै लागि गौरवको आयोजना भएको उनले बताए ।

जिल्ला कै समृद्धिको यात्रामा महत्वपूर्ण कार्य भएकाले चितवनबासी मिलेर निर्माणमा सहयोग गर्नुपर्ने उनले बताए । रंगशाला निर्माण महत्वपूर्ण भएकालेले आउने दिनमा आवश्यक पर्दा सरकारले सहयोग गर्ने बताउँदै उनले भने, ‘चन्दाले मात्रै यति ठूलो आयोजना पुरा नहुन सक्छ । सरकारले सहयोग गर्नुपर्छ ।’