भक्तपुरमा बिजुलीको तार सर्ट हुँदा आगलागी

मुख्य समाचार समाज

भक्तपुर, २९ जेठ, २०७६ । बिजुलीको तार सर्ट भएर मंगलबार भक्तपुरमा आगलागी भएको छ । भक्तपुर नगरपालिका वडा नं. १ इटाछेंमा आगलागी भएको हो ।

जुद्ध वारुणयन्त्र कार्यालयको एउटा दमकलले आगो नियन्त्रणमा लिएको थियो । आगो लाग्ने बितिकै खबर भएको र आगलागी भएको स्थान र जुद्ध वारुद्ध यन्त्र कार्यालयबीचको दुरी केही सय मिटर मात्रै रहेकोले समयमै दमकल पुगेर आगलागी नियन्त्रणमा लिन सकेको जुद्ध वारुद्धयन्त्र कार्यालय दूधपाटी भक्तपुरले जनाएको छ । समयमै दमकल पुगेकोले आगलागीबाट ठूलो क्षति हुन नपाएको बताइएको छ ।

एक स्थानीय राजन जतिले अव्यवस्थित तारका कारण आगलागी भएको बताए । आगलागीबाट ठूलो धनजन तथा मानवीय क्षति हुन नपाएको उनले जनाए । भक्तपुरमा जताततै अव्यवस्थित तारका कारण हप्तैपिच्छे यस्ता सानाठूला आगलागी भइरहेका छन् । यसबारे सम्बन्धित निकाय नेपाल विद्युत प्राधिकरण विद्युत वितरण केन्द्र भक्तपुरको ध्यान जानुपर्ने आवश्यकता उनले औंल्याए । भविष्यमा हुनसक्ने अप्रिय घटनाबाट विद्युत कार्यालय बेलैमा सचेत हुनुपर्नेमा उनको जोड छ ।

जिल्लाका नगर, गल्ली सबैतिर विद्युतका अव्यवस्थित तारका कारण कहिले ठूलो दुर्घटना भइ पूरै टोल नै आगलागीबाट समाप्त हुने हो स्थानीय त्रस्त भएपनि सरकोर कार्यालयको ध्यान जान नसकेकोप्रति जिल्लाबासी रुष्ट छन् ।