विपन्न बालबालिकालाई शैक्षिक सामग्री वितरण

मुख्य समाचार विषेश समाचार शिक्षा

काठमाडौँ, २८ जेठ, बालश्रम विरुद्धको विश्व दिवसको सन्र्दभमा बाल विकास समाजले विपन्न वर्गका बालबालिकाहरुलाई शैक्षिक सामग्री वितरण गरेको छ । उक्त सामग्री नेपाली चलचित्रका महानायक राजेश हमालको हातबाट वितरण गरिएको हो ।

कार्यक्रममा बाल विकास समाजका उपाध्यक्ष डा. रिता सिंहले संस्थाको आफ्नै पहलमा आर्थिक स्रोत जुटाएर सामुदायिक विद्यालयमा अध्ययन गर्ने विपन्न वर्गका बालबालिकाहरुलाई सहयोग गर्ने गरेको बताइन् । उनले कार्यक्रममा शैक्षिक वर्ष २०७६ मा १४ वटा सामुदायिक विद्यालयमा अध्ययन गर्ने असहाय तथा विपन्न वर्गका १४० जना बालबालिकाहरु रहेको र संस्थाको सहयोगमा १२४ जना बालबालिकाहरुले एस एल सी पास गरेको पनि उल्लेख गरिन् ।

कार्यक्रममा सामग्री पाउने बालबालिकाहरुमा बालकुमारी आधारभूत विद्यालयका ६१ जना, जनकल्याण माध्यमिक विद्यालयका १८ जना, बालउद्धार माध्यमिक विद्यालयका ११ जना, नवजागृति माध्यमिक विद्यालयका १० जना, अरुणोदय माध्यमिक विद्यालयका ६ जना, यज्ञमती माध्यमिक विद्यालयका ३ जना, ग्रामशिक्षा मन्दिर माध्यमिक विद्यालयका ६ जना गरी जम्मा ११५ जना रहेका छन् । सोही कार्यक्रममा बालकुमारी आधारभूत विध्यालयलाई संस्थाले स्टेसनरीका सामग्रीसमेत हस्तान्तरण गरेको थियो ।

उक्त सामग्री वितरणको लागि बाल विकास समाजका कार्यसमिति पदाधिकारीहरु, अजीवन सदस्य, हिमालयन हेल्थ इनिसिएटिभ, अमेरिकन नेप्लिज फिजिसियन एसोसिएसन, युनाइटेड नेसन्स कम्युनिटी आउटरिच नेटवर्क, बाल विकास समाजका कर्मचारी, सिटिजन बैक लि. शुभचिन्तकहरुबाट आर्थिक जुटाएको कुरा संस्थाका अध्यक्ष सुवास गौतमले जानकारी दिए ।

बाल विकास समाजका सल्लाहकार तथा संस्थापक महासचिव शरद शर्माले संस्थामार्फत विपन्न वर्गका बालबालिकाहरुले औपचारिक शिक्षा हासिल गर्ने अवसर पाएका र संस्थाले चाहेको अवस्थामा कसैको मुख नताकि आन्तरिक सहयोगबाट पनि उनीहरुको पढन पाउने अधिकार सुनिश्चत गर्न सकिने कुरा समेत बताए । संस्थाले बालअधिकारको प्राप्तिका लागि गरेको काम प्रशंसनीय रहेको कुरा समेत उल्लेख गरे ।

कार्यक्रमका प्रमुख अतिथि माहानायक राजेश हमालले संस्थाको कार्यक्रममा आउन पाउदा, बालबालिकाहरुसंँग प्रत्यक्ष रुपमा भेटन पाउदा खुशी लागेको बताए । विशेष गर्री बालअधिकारका सवालमा हामी सबैजनाले आफ्नो क्षेत्रबाट जिम्मेवारी पूरा गर्न पछि हटन नहुने बताए ।

बालबालिकाहरु रमाउने, जिउन पाउने, शिक्षा, तथा पोषण युक्त आहार र उनीहरुको अधिकारप्रति हामी सधैँ सजग हुनुपर्ने कुरामा उनको जोड थियो । बालबालिकाहरुलाई मेहनती र लगनशील भएर जोश जागरकासाथ अध्ययन गर्न पनि उनले आग्रह गरे । उनले यसरी संस्थामा आएर प्रत्यक्ष रुपमा बालबालिकाहरुसँग रम्ने मौका संस्थाले दिएकोप्रति संस्थालाई धन्यवादसमेत दिए । कार्यक्रम पश्चात महानायक राजेश हमालले संस्थाको अवलोकनका क्रममा विगतमा संस्थाले गर्दै आएको विभिन्न कार्यक्रमका तस्विरका बारेमा जिज्ञासा राखेका थिए । सोही क्रममा उनले संस्थाका पदाधिकारीसँग छलफलसमेत गरेका थिए ।

बाल विकास समाजले सञ्चालन गरेको छात्रवृत्ति कार्यक्रम अन्तर्गत आगामी दिनमा नेपाली शुभ चिन्तकहरुबाट नै आर्थिक सहयोग जुटाएर विपन्न वर्गका बालबालिकाहरुलाई थप सहयोग गर्ने लक्ष्य राखेको कुरा संस्थाका कार्यकारी निर्देशक कृष्णप्रसाद सुवेदीले बताए ।