सर्लाहीका स्थानीय तहलाई ५ अर्ब बजेट

आजको बजार मुख्य समाचार समाज

सर्लाही, जेठ २७ । संघीय सरकारले सर्लाहीका स्थानीय तहलाई ५ अर्ब ७ करोड १६ लाख रुपैंया बजेट विनियोजन गरेको छ । अर्थ मन्त्री युवराज ज्ञवालीले आर्थिक वर्ष २०७६/७७ का लागि संघीय सदनमा प्रस्तुत गरेको बजेट घोषणा अनुसार सर्लाहीका २० वटा स्थानीय तहलाई उक्त रकम विनियोजन गरिएको हो ।

गतवर्ष ४ अर्ब ६९ करोड ६० लाख रुपैंया पाएका सर्लाहीका स्थानीय तहमा यसवर्ष ३७ करोड ५६ लाख रुपैया बढी बजेट निकासा भएको छ । जिल्ला स्थित २० वटा स्थानीय तहलाई वित्तिय समानिकरण र सशर्त अनुदान शिर्षकमा उक्त बजेट छुट्याईएको अर्थ मन्त्रीले गरेको बजेट घोषणामा उल्लेख छ ।

जिल्लास्थित ११ वटा नगरपालिकाले वित्तिय समानिकरणतर्फ १ अर्ब ५६ करोड १३ लाख तथा सशर्त अनुदानतर्फ १ अर्ब ८६ करोड ६४ लाख गरी ३ अर्ब ४२ करोड ७७ लाख रुपैंया पाउने भएका छन् ।

त्यस्तै ९ गाउँपालिकाका लागि वितिय समानिकरणतर्फ ८६ करोड ७६ लाख तथा सशर्त अनुदानतर्फ ७७ करोड ६३ लाख गरी १ अर्ब ६४ करोड ३९ लाख छुट्टयाईएको छ । ११ वटा नगरपालिका मध्ये लालबन्दीले सबैभन्दा बढी ४३ करोड ४२ लाख तथा सबैभन्दा कम हरिपूर्वा नगरपालिकाले २० करोड ७४ लाख रुपैंया पाउने भएको छ ।

त्यस्तै ९ वटा गाउँपालिका मध्ये ब्रम्हपुरीले सबैभन्दा बढी २१ करोड ८४ लाख तथा सबैभन्दा कम बसबरियाले १५ करोड २८ लाख रुपैंया प्राप्त गर्ने भएको छ । जिल्लामा यो बाहेक केन्द्रीय योजना अन्तर्गतका सडक लगायत विभिन्न निर्माण कार्य, संसदीय बिकास कोष, निर्वाचन क्षेत्र विकास कार्यक्रम सहित प्रदेश र संघीय सरकारले सञ्चालन गर्ने योजनाको छुट्टै बजेट आउने जानकारहरुले बताएका छन् ।