काठ बोकेको बेवारिसे ट्याक्टर बरामद

मुख्य समाचार समाज

उदयपुर, जेठ २८ । जिल्ला प्रहरी कार्यालय उदयपुरले काठ बोकेको बेवारिसे ट्याक्टर नियन्त्रणमा लिएको छ । प्रहरीले सोमबार विहान करिब १ बजेको समयमा त्रियुगा नगरपालिकाबाट उक्त बेवारिसे ट्याक्टर बरामद गरेको हो ।

त्रियुगा नगरपालिका ७ को चुहाडे चोक र नमुना चोकबीच भएर काली खोलातर्फबाट आउँदै गरेको ट्याक्टर बेवारिसे अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार सखुवाको चिरान (बटम) काठ बोकेर आउँदै गरेको स१त ६५०५ नम्बरका ट्याक्टर चालक प्रहरीलाई देखेर भागेपछि काठसहितको ट्याक्टर नियन्त्रणमा लिइएको हो ।

ड्युटीमा रहेको अस्थायी प्रहरी पोष्ट चुहाडेको गस्ती टोलीलाई देख्नेवित्तिकै काठ बोकेर आउँदै गरेको ट्याक्टर छाडेर चालक र सहचालकलगायत केही व्यक्ति अज्ञातस्थलतर्फ भागेको प्रहरीले जनाएको छ ।

बरामदपछि इलाका प्रहरी कार्यालय जलजलेमा राखिएको काठसहितको ट्याक्टर सोमबार १० बजे डिभिजन वन कार्यालय उदयपुरको जिम्मा लगाइएको छ । ट्याक्टरका चालक र सहचालकको खोजी कार्य भइरहेको प्रहरीको भनाई छ ।