प्रधानसेनापति राष्ट्रिय भलिबलको उपाधि आर्मीलाई, गण्डकी प्रदेश पराजित

खेलकुद मुख्य समाचार विषेश समाचार

काठमाडौं, २८ जेठ, २०७६ । आयोजक टोली त्रिभुवन आर्मी क्लबले प्रधानसेनापति राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधि जितेको छ । आर्मीले चौथो संस्करणको प्रतियोगिताको फाइनलमा गण्डकी प्रदेशलाई ३/१ को सेटमा पराजित गर्दै जित निकालेको हो ।

लगनखेलमा रहेको आफ्नै मैदानमा भएको खेलमा आर्मीले पहिलो सेट १६/२५ ले गुमाए पनि त्यसपछि उत्कृष्ट पुनरागमन गर्दै उपाधि कब्जा गर्न सफल भयो । दोस्रो सेटमा उत्कृष्ट लयमा देखिएको आर्मीले २५/८ ले नतिजा आफ्नो पक्षमा पार्यो भने तेस्रो सेट २५/१० तथा चौथो सेट २५/१६ ले जितेको हो ।

उपाधिसँगै आर्मीले तीन लाख रुपैयाँ पुरस्कार पाएको छ भने उपविजेता बनेको गण्डकीले एक लाख ५० हजार रुपैयाँमा चित्त बुझाउनु पर्यो । यस्तै, प्रतियोगितामा तेस्रो भएको पुलिसले ७५ हजार रुपैयाँ पुरस्कार पाएको छ ।