‘सारेगमप लिटिल च्याम्प’मा प्रितम तेस्रो, आयुष चौथो

आजको म्यूजिक कला/संस्कृति विषेश समाचार

काठमाडौं, २७ जेठ, २०७६ । भारतीय चर्चित रियालिटी शो ‘सारेगमप लिटिल च्याम्प’मा दुई नेपाली बालगायक तेस्रो र चौथो भएका छन् । प्रतियोगितामा प्रितम आचार्य तेस्रो र आयुष केसी चौथो भएका हुन् ।

प्रतियोगिताको फाइनलमा दुई नेपालीसहित ६ जना बालगायक पुगेका थिए । जसमध्ये सुनसरी र सिन्धुपाल्चोक घर भएका दुई नेपाली बालक तेस्रो र चौथो भएका हुन् ।

आयुषको स्थायी घर सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिका १ हो । तर, हाल उनी भक्तपुरको मोर्डन बोर्डिङ स्कुलमा कक्षा ७ मा अध्ययनरत छन् । यस्तै, सुनसरीका प्रितम इटहरीको विश्व आदर्श विद्यालयमा कक्षा ६ मा अध्ययनरत छन् ।

सुरशाला म्यूजिक एकेडेमीमार्फत उनीहरुले भिडियो अडिसन पार गरेर सारेगमपमा प्रवेश पाएका थिए । ३ वटा भिडियो पठाएपछि उनीहरु दोस्रो चरणका लागि दिल्ली गएका थिए ।