अष्ट्रेलियाविरुद्ध भारतको रोमाञ्चक जित

खेलकुद मुख्य समाचार विश्व

एजेन्सी, २७ जेठ, २०७६ । इंग्ल्याण्डमा जारी १२ औं संस्करणको विश्वकप क्रिकेटमा भारतले दोस्रो जित हात पारेको छ । आइतबार लण्डनको ओभल क्रिकेट मैदानमा भएको खेलमा साबिक विजेता अष्ट्रेलियाविरुद्ध भारतले ३६ रनको रोमाञ्चक जित निकालेको हो ।

टस जितेर सुरुवाती ब्याटिङ गरेको भारतले अष्ट्रेलियालाई जितका लागि ३५३ रनको विशाल लक्ष्य दिएको थियो । जवाफी ब्याटिङका लागि मैदान आएको अष्ट्रेलियाले पुरै ५० ओभर खेल्दै १० विकेटको क्षतिमा ३१६ रन मात्र बनायो ।

यसका लागि अष्ट्रेलियाका स्टिभ स्मिथले ६९ रन जोड्दा डेभिड वार्नरले ५६ रनको योगदान गरे । यस्तै टोलीका एलेक्स म्याक्सवेलले ५५ रनको अविजित पारी खेल्दा उस्मान ख्वाजाले ४२, कप्तान आरोन फिन्चले ३६ तथा ग्लेन म्याक्स्वेलले २८ रन बनाए ।

भारतलाई जित दिलाउने क्रममा जस्प्रित बुम्राह र भुवनेश्वर कुमारले समान ३/३ विकेट लिए भने युजभेन्द्र चाहलले २ विकेट लिए । त्यसअघि सुरुवाती ब्याटिङमा आएको भारतले पुरै ५० ओभर खेलेर ५ विकेटको क्षतिमा ३५२ रन बनाएको थियो ।

भारतका लागि शिखर धवनले ११७, कप्तान विराट कोहलीले ८२ र रोहित शर्माले ५७ रन जोडे ।


यस्तै, हार्दिक पाण्ड्याले ४८ रन, महेन्द्रसिंह धोनीले २७ रन बनाउँदा अष्ट्रेलियाका मार्कुस स्टोनीसले २ विकेट लिए । पाट कुमिन्स, मिचेल स्टार्क र कल्टर नेईलले अष्ट्रेलियाका लागि समान १/१ विकेट लिए ।

जितसँगै भारतले २ खेलबाट ४ अंक जोडेको छ । र, भारत तालिकाको तेस्रो स्थानमा उक्लिएको छ भने विश्वकपमा अष्ट्रेलियाको पहिलो हार हो ।