प्रधानमन्त्री ओली स्विजरल्याण्डको जेनेभामा

मुख्य समाचार विश्व

काठमाडौं, २७ जेठ, २०७६ । प्रधानमन्त्री केपीशर्मा ओली आफ्नो युरोप भ्रमणका क्रममा स्विजरल्याण्डको जेनेभामा पुगेका छन् । झन्डै दुई साता लामो युरोप भ्रमाणमा निस्किएका उनी आइतबार जेनेभा पुगेका हुन् ।

प्रधानमन्त्री ओलीलाई जेनेभास्थित राष्ट्रसंघीय नियोगका लागि नेपालका स्थायी प्रतिनिधि एवम् स्विस महासंघका लागि नेपाली राजदूत मणिप्रसाद भट्टराई तथा नियोगका अधिकारीले स्वागत गरे । यस्तै प्रधानमन्त्रीको स्वागतका लागि विमानस्थलमा जेनेभा क्यान्टका काउन्सिलर तथा स्विस प्रोटोकल अधिककारीहरुसमेत उपस्थित भएका थिए ।

ओलीले आज (सोमबार) जेनेभामा हुने अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)को शतवार्षिकी समारोहलाई सम्बोधन गर्नेछन् । यस्तै उनले स्विजरल्याण्डमा रहेका नेपाली समुदायसँग अन्तरक्रिया गर्ने कार्यक्रम समेत रहेको छ ।

ओलीसँगै भ्रमण टोलीमा उनकी श्रीमती राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट, प्रधानमन्त्रीका मूख्य सल्लाहाकार विष्णुप्रसाद रिमाल, परराष्ट्रसल्लाहाकार डा. राजन भट्टराई र प्रेस सल्लाहाकार डा. कुन्दन अर्याल रहेका छन् ।

यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।