पहिले नेकपा व्यवस्थित नभए मुलुक व्यवस्थित हुँदैन : भुषाल

मुख्य समाचार राजनीति

भैरहवा, २६ जेठ, २०७६ । नेकपाका स्थायी समिति सदस्य घनश्याम भुषालले नेकपा आफैँ व्यवस्थित हुन नसकेसम्म मुलुक व्यवस्थित हुन नसक्ने बताएका छन् । आइतबार लुम्बिनी प्रेस क्लबले भैरहवामा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै नेता भुषालले पार्टी भित्रको अन्तरविरोधको मूल्य राष्ट्रले तिर्ने गरी पार्टीलाई अव्यवस्थित बनाउन नहुने बताए । नेकपा आफैँ भित्र व्यवस्थित हुन नसकेर यसले बाहिर व्यवस्थित गर्न सकेको छैन ।

सरकारले गरेका कामहरु जनता माझ गाउँगाउँमा, घरघरमा लैजाने काम पार्टी कार्यकर्ताको हो । ‘हरेक मन्त्री आफैँ सफल हुन लाग्नुभएको छ, कि सरकारलाई सफल बनाउन लाग्नुभएको छ ?, प्रधानमन्त्री स्वयं सरकार बनाउन लाग्नु भएको छ कि प्रधानमन्त्री कार्यालय सफल बनाउन लाग्नुभएको छ ? यसमा मनन गर्न जरुरी छ’ उनले भने ।

बालुवाटार जग्गा प्रकरणको सन्दर्भमा महासचिवको नाम संलग्नता भएर आउने कुरा पार्टीको सदस्यको नाताले दुर्भाग्यपूर्ण भएको बताउँदै यसमा के उत्तर दिने पार्टीमा छलफल हुनुपर्दथ्यो, यत्रो प्रश्न आएपछि पार्टीले अभिमत प्रकट गर्न पर्दथ्यो, यो सचिवालयले पनि गरेको भए हुन्थ्यो, स्थायी समितिको बैठकमा छलफल गरेर एकीकृत उत्तर दिनुपर्छ भन्ने लाग्छ’ उनले भने ।